हिरासतबाट भागेका खुकुरी प्रहार अभियुक्त सिन्धुपाल्चोकबाट पक्राउ


काठमाडौं ।

काठमाडौँ महानगरपालिका–५, जोरपाटीमा जितबहादुर मोक्तानमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त लोब्साङ बोम्जन पुनः पक्राउ परेका छन्।

प्रहरीका अनुसार बोम्जन यसअघि गत भदौ २४ गते आन्दोलनका क्रममा प्रहरी वृत्त बौद्धको हिरासतबाट भागी फरार रहेका थिए। फरार अभियुक्तको खोजीका क्रममा खटिएको प्रहरी टोलीले उनलाई सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–१, बाँसखर्कबाट चैत २७ गते राति करिब ९:३० बजे पक्राउ गरेको हो।

३१ वर्षीय बोम्जन सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका–१, बाँसखर्कका स्थायी बासिन्दा हुन्।

पक्राउ परेका बोम्जनलाई आवश्यक कारबाहीका लागि पुनः प्रहरी वृत्त बौद्ध, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।