नयाँ वर्षमा पूर्वराजा शाहको सन्देश : युवाको सहभागिता सकारात्मक, खिचातानीले देश पछि परेको टिप्पणी


काठमाडौँ।

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले निरन्तर राजनीतिक खिचातानी र प्रयोगधर्मीताले मुलुकलाई प्रगतिको मार्गमा लैजान नसकी उल्टै पछाडि धकेलेको टिप्पणी गरे।

शाहले राजनीति, राज्यपद्धति र शासन प्रशासनमा भएका बारम्बारका फेरबदललाई “कोरा परिवर्तन”को संज्ञा दिँदै त्यसले राष्ट्रको श्रीवृद्धिमा अपेक्षित योगदान दिन नसकेको बताए। “हामी सधैँ प्रयोग, सधैँ अभ्यास र विकल्पको खोजीमा लाग्यौँ, फलस्वरूप देश प्रयोगशाला मात्रै बन्यो,” उनले सन्देशमा उल्लेख गरेका छन्।

उनका अनुसार विगतका वर्षहरूमा अपेक्षित विकास हुन नसक्दा नेपाली जनताको मनोभावनामा समेत निराशा छाएको छ। दलीय स्वार्थ र निरन्तरको खिचातानीका कारण राष्ट्रिय एजेन्डा ओझेलमा परेको उनको संकेत छ।

यद्यपि, उनले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको बढ्दो सहभागितालाई सकारात्मक रूपमा लिएका छन्। शिक्षित, देशबुझेका र आधुनिक प्रविधिमा दक्ष युवाहरूको सक्रिय उपस्थितिले राष्ट्रलाई नयाँ दिशा दिन सक्ने विश्वास उनले व्यक्त गरे।

शाहले देशलाई स्थिरता, सहकार्य र साझा उद्देश्यतर्फ उन्मुख गराउन आवश्यक रहेको औंल्याउँदै राजनीतिक दलहरूलाई खिचातानी त्यागेर सहमतिमा अघि बढ्न आग्रह गरेका छन्। नयाँ वर्षले सबै नेपालीमा आशा, एकता र सकारात्मक सोचको विकास गराओस् भन्ने कामना पनि उनले गरेका छन्।