सभामुख अर्यालको जन्मथलो ज्वालामुखी नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका

1.6k
Shares

धादिङ ।

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “नमुना सफा तथा स्वच्छ गाउँपालिका”का रूपमा औपचारिक रूपमा आइतबार घोषणा गरिएको छ। नेपाल सरकारको पूर्ण सरसफाइ मार्गदर्शन २०७३ तथा गाउँपालिकाको नीति, कार्यक्रम र “सफा, स्वस्थ ज्वालामुखी” अभियानअनुसार सबै वडाका घरधुरीमा सरसफाइसम्बन्धी सूचकहरू पूरा भएपछि उक्त घोषणा गरिएको हो।

घोषणा कार्यक्रममा प्रतिनिधिसभाका सभामुख अर्यालले पानसमा बत्ती बालेर तथा प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै उद्घाटन गर्नुभयो। उहाँले फिल्टर गरिएको पानी करुवाबाट पिएर सरसफाइको सन्देशसमेत दिनुभयो।

समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले भन्नुभयो, “म धादिङको माटोको कसम खाएर भन्छु, म गलत काम गर्दिनँ, गलत नियत राख्दिनँ। सबै मिलेर ऐन, नीति र कानून बनाउनुपर्नेछ।”

उहाँले आफ्नो जिम्मेवारी निष्पक्ष र तटस्थ ढंगले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक ऐन, नियम र नीतिहरू समयमै निर्माण गर्ने बताउनुभयो। साथै, १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि पहल भइरहेको र केही दिनमै परियोजना स्थलमा काम सुरु हुने जानकारी दिनुभयो।

सभामुख भएपछि गृहजिल्लामा पहिलाेपटक औपचारिक कार्यक्रममा सहभागी हुन धादिङ आईपुग्दा नेपाल पत्रकार महासंघ, स्थानी पार्टीका नेताहरु, र जन्मथलाेबासीले स्वागत गरेका छन् ।

गाउँपालिका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले २०७६ सालदेखि सरसफाइ अभियानलाई प्राथमिकतामा राखी निरन्तर काम गर्दा आजको सफलता हासिल भएको बताउनुभयो। उहाँका अनुसार शौचालयको समुचित प्रयोग, हात धुने बानी, व्यक्तिगत सरसफाइ, महिनावारी स्वच्छता, सुरक्षित खानेपानी, स्वच्छ भान्सा, वातावरणीय सरसफाइ तथा फोहोर व्यवस्थापनमा गाउँपालिकाले उल्लेखनीय प्रगति गरेको छ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठले विकासको “न्यारेशन” परिवर्तन गर्नुपर्नेमा जोड दिँदै वर्तमान सरकारले जनमुखी सेवामा तीव्रता दिएको उल्लेख गर्नुभयो। उहाँले आफ्नो दलले सुशासन कायम गर्ने तथा चुनावमा गरेका प्रतिबद्धताअनुसार काम सुरु भइसकेको दाबी गर्नुभयो।

घोषणापछि गाउँपालिकाको दिगोपनाका लागि सामूहिक रूपमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले जिल्ला स्तरीय अनुगमन समितिको निर्णयअनुसार “सफा तथा स्वच्छ गाउँपालिका”को प्रमाणपत्र अध्यक्ष दनैलाई हस्तान्तरण गर्नुभयो।

यस घोषणासँगै ज्वालामुखी गाउँपालिकाले प्राप्त उपलब्धिलाई दिगो बनाउने र सरसफाइको उदाहरणीय अभ्यासलाई देशभर विस्तार गर्ने लक्ष्यसमेत लिएको छ।