मन्त्रीहरुको सम्पत्ति छानबिन र आयस्रोत खुलाउन माग गर्दै अखिल क्रान्तिकारी सडकमा


काठमाडौँ। 

 नेपाल सरकारका मन्त्रीहरूको हालै सार्वजनिक भएको सम्पत्ति विवरण अपारदर्शी भएको भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

मन्त्रिपरिषद् सदस्यहरूको सम्पतीको वास्तविक स्रोत खुलाउन र अवैध देखिएका सम्पत्तिमाथि तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन माग गर्दै संगठनले सरकारमाथि दबाब सिर्जना गरेको हो । माईतीघरमा प्लेकार्डसहित उत्रिएका विद्यार्थीले मन्त्रीहरूको विलासी जीवनशैली र सार्वजनिक गरिएको सम्पत्ति विवरणबीच मेल नखाएको दाबी गरेका छन् ।

प्रदर्शनकारीहरूले ‘सम्पत्ति देखियो—स्रोत कहाँ गयो?’, ‘मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार’, र ‘सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री’ जस्ता नाराहरू अंकित प्लेकार्ड प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले सरकारसमक्ष मुख्यतया तीनवटा माग राखेका छन् । मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पतीको वैधानिक स्रोत तत्काल सार्वजनिक गरिनुपर्ने, सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न एक उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरिनुपर्ने, देशमा बढ्दो भ्रष्टाचार, सुन तस्करी र महँगी नियन्त्रणमा सरकारले ठोस कदम चाल्नुपर्ने उनीहरुको माग छ ।