–करोडौंका सुन र गरगहना
–शिक्षामन्त्रीको सम्पत्ति २३ करोड बढी
–गृहमन्त्री करोडौंका मालिक
–अर्थमन्त्रीको करोडौंका बंगाला
–कतिपय मन्त्रीको सम्पत्ति अस्वाभाविक
काठमाडौं।
सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार उहाँहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
सम्पत्ति विवरण हेर्दा प्रधानमन्त्री बालेन्द्र शाहलगायत अधिकांश मन्त्रीहरू करोडपति देखिएका छन् । अधिकांश मन्त्रीहरूको सम्पत्ति अथाह देखिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपियाँ रहेको खुलाउनुभएको छ । उहाँले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई उल्लेख गर्नुभएको छ । पत्नी सविनाको नाममा १९० तोला सुन रहेको र प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चारवटा घर, अपार्टमेन्ट रहेको विवरण सार्वजनिक गर्नुभएको छ । वाग्लेको ललितपुरको सानेपामा अपार्टमेन्ट २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरिएको छ । मन्त्री वाग्लेले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटी उल्लेख गर्नुभएको छ । उहाँको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपियाँ रहेको विवरणमा उल्लेख छ ।
गृहमन्त्री सुधन गुरुङको नाममा १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअनुसार गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख छ । उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ ।
गृहमन्त्री गुरुङका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको बाँडफाँट नभएको नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ । गृहमन्त्री गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी पनि रहेको उल्लेख छ ।
यस्तै, भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकासमन्त्री सुनील लम्सालसँग ९० लाख रुपियाँ बैंक ब्यालेन्स रहेको पाइएको छ । उहाँको सम्पत्ति विवरणमा ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरिएको छ ।
उहाँको परिवारका सदस्यका नाममा रूपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी रहेको उल्लेख छ । साथै, २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो बैंक खातामा ४ लाख ४७ हजार ९ सय ९४ रुपियाँ मौज्दात रहेको उल्लेख गर्नुभएको छ भने डलर खातामा अमेरिकी डलर ५ रहेको उल्लेख छ ।
शिक्षामन्त्री सस्मित पोखरेलसँग पनि अथाह सम्पत्ति रहेको पाइएको छ । जसअनुसार, उहाँको बुबा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा ७ ठाउँमा करिब साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख छ । काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा रहेको विवरणमा उल्लेख छ । साथै, २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख छ । बुबा रमेशकुमार पोखरेलसहितका सदस्यहरूले पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका सेयरहरू करिब ३० लाख बराबरको लगानी गरेको उल्लेख छ । आमा मीनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रुपियाँ बराबरको सेयर रहेको उल्लेख छ ।
उहाँले आफू र आमा मीनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण देखाउनुभएको छ । उहाँले हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ«े बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख गर्नुभएको छ । बुबा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेका छन् ।
सम्पत्ति विवरणमा कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रहेको उल्लेख गर्नुभएको छ । उहाँको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रहेको देखिएको छ ।
कोसँग कति सुन
–प्रधानमन्त्री बालेन्द्र : १९० तोला सुन
–अर्थमन्त्री स्वर्णिम : ८५ तोला सुन
–गृहमन्त्री सुदन : ८९ तोला सुन, चाँदी ६ किलो
–उद्योगमन्त्री गौरीकुमारी : १८० तोला सुन, चाँदी २ किलो
–महिला मन्त्री सिता बादी : १८ तोला सुन, चाँदी १५ तोला
–शिक्षामन्त्री सस्मित पोखरेल : २५ तोला सुन, चाँदी १०० तोला
–श्रममन्त्री रामजी यादव : ८० तोला सुन
–कानुनमन्त्री सोविता गौतम : १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हीरा ।











प्रतिक्रिया