काठमाडौँ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो नाममा चारवटा घर तथा अपार्टमेन्ट रहेको खुलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेको नाममा विभिन्न स्थानमा घरजग्गा, बैंक मौज्दात र शेयर लगानी रहेको देखिएको छ।
विवरणअनुसार उनीसँग ललितपुरको सानेपामा २ करोड मूल्य बराबरको अपार्टमेन्टसहित १२८४ वर्गमिटरमा फैलिएका ४ वटा घरहरू रहेका छन्।
मन्त्री वाग्लेको नाममा ललितपुरको भैँसेपाटीमा ४ आना ३ पैसा क्षेत्रफलमा बनेको ५ करोड मूल्यको घर, काभ्रेको धुलिखेलमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र तनहुँको बन्दीपुरमा ३ आना ३ पैसा क्षेत्रफलको घर रहेको छ।
यी सम्पत्तिहरू उनले अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण र व्यक्तिगत सापटीबाट जोडेको उल्लेख गरेका छन्। यस्तै, उनको नाममा गोरखा नगरपालिकामा ५ रोपनी र तनहुँको भानु नगरपालिकामा ६ रोपनी जग्गा छ।
परिवारका सदस्य जीवनराज वाग्लेको नाममा समेत काठमाडौँको चन्द्रागिरि, गोरखा र चितवनमा गरी उल्लेख्य जग्गा रहेको विवरणमा देखाइएको छ।
अर्थमन्त्री वाग्लेसँग ४५ तोला सुन रहेको छ। बैंक मौज्दाततर्फ उनको हिमालयन, सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गरी कुल १ करोड ९० लाख रुपैयाँ नगद रहेको छ। यो रकम आफू र श्रीमतीको आय तथा सापटीबाट आर्जन गरेको उनले खुलाएका छन्।
वाग्लेको जलविद्युत र बैंकिङ क्षेत्रमा ठूलो लगानी रहेको छ। उनले सानिमा मिडल तमोर हाइड्रोको ७१ हजार ९३ कित्ता र सांग्रिला विकास बैंकको २५ हजार ७६२ कित्ता शेयर धारण गरेका छन्।
यस्तै नेशनल फण्ड म्यानेजमेन्ट, ठूलो खोला र अपर मादी खोला जलविद्युत आयोजनाहरूमा उनको क्रमशः ९० लाख, ६० लाख र ३ करोड रुपैयाँ बराबरको शेयर लगानी रहेको छ।
सम्पत्तिसँगै मन्त्री वाग्लेको ऋणको विवरण पनि सार्वजनिक भएको छ। उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ लाख, स्ट्यान्डर्ड चार्टर्डबाट ७५ लाख र ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख रुपैयाँ ऋण लिएकोमा वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्डको ऋण चुक्ता भइसकेको उल्लेख छ।
यसका साथै उनले २ करोड ५० लाख रुपैयाँ व्यक्तिगत सापटी लिएको विवरणमा उल्लेख गरिएको छ।











प्रतिक्रिया