काठमाडौं ।
काठमाडौं महानगरपालिका प्रहरी बलले दुई महिनामा साढे ५ हजार बढी सवारीसाधनलाई कारबाही गरेको छ । त्यसमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन रहेका छन् । पछिल्लो समय पार्किङ व्यवस्थापन गर्न द्रुत रूपमा अघि बढेको महानगर प्रहरीले शुक्रवारसम्म २ सय ९० चारपाङ्ग्रे र ५ हजार ६ सय १९ दुईपाङ्ग्रे सवारीसाधनलाई कारबाही गरेको छ ।
कामपा प्रहरीले फागुन १ देखि चैत २७ गतेसम्म सो कारबाही गरेको हो । कामपा प्रहरीबल प्रमुख विष्णुप्रसाद जोशीले सडक र पेटीमा जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई कारबाही गरेको बताउनुभयो । प्रहरीले कारबाही गरी टेकु र बग्गीखानामा राख्नेछ । दुई र चारपाङ्ग्रे सवारी साधन कारबाही गरेर कामपाले करिब ७० लाख रुपियाँ राजस्व संकलन गरेको छ ।
केही समयअघि नगन्य कारबाही पर्ने गरेको थियो । पछिल्लो एक महिनामा दैनिक करिब २ सयको हाराहारीमा कारबाही भइरहेको प्रहरीबल प्रमुख जोशीले बताउनुभयो ।
यसबाहेक कामपाले विभिन्न ११ शीर्षकमा कारबाही गरेको छ । राती र दिनमा जथाभावी फोहोर फ्याँक्ने ७२ जना, कामपासँग स्वीकृत नलिई स्वागत गेट निर्माण गर्ने १, सार्वजनिक स्थानमा धूम्रपान गर्ने २१, सडक पेटीमा निर्माण सामग्री राख्ने ३, सडक पेटी अतिक्रमण गर्ने ३६, सडकमा माटो बालुका खसाल्ने २ जनामाथि कारबाही गरेको छ । सोही अवधिमा कामपाले एक कवाडी हटाएको छ भने १० ट्रक तार व्यवस्थापन गरेको छ ।
त्यस्तै, धराहराको भूमिगत पार्किङमा दैनिक २७ सय सवारी व्यवस्थापन गर्ने गरेको छ । कामपाले न्युरोड र धरहरा अवलोकन गर्नेका लागि निःशुल्क भूमिगत पार्किङ व्यवस्था गरेको छ । त्यस्तै, ७ जना बेवारिसेलाई मानवसेवा आश्रममा व्यवस्थापन गर्न सहयोग गरेको छ भने विभिन्न जात्रा व्यवस्थापन जारी राखेको छ ।
प्रहरी बल प्रमुख जोशीले जनतालाई सहज रूपमा सेवा दिन महानगर क्षेत्रमा सुधारका कार्ययोजना अघि सारेर निरन्तर काम गरिररहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विशेषगरी अवैध पार्किङ नियन्त्रण गर्न दिनभर प्रहरी टोली परिचालन गरिएको छ ।’ त्यस्तै, वसन्तपुर दरबारक्षेत्र अवलोकन गर्न आउने पर्यटकलाई नगर प्रहरीले निरन्तर सहयोग गरिरहेको प्रहरीबल प्रमुख जोशीले जानकारी दिनुभयो । कामपाले दरबार क्षेत्रमा कार्यरत प्रहरीलाई विशेष पोशाक व्यवस्था गरेको छ ।
प्रहरीबल प्रमुख जोशीले शून्य सहनशीलता अपनाउँदै महानगरवासीलाई विगतजस्तै निरन्तर सेवा दिइरहेको बताउनुभयो । उहाँले रात्रिकालीन बजार, अनधिकृत पार्किङ, मापदण्डविपरीत निर्माण भएका घरटहरा भत्काउने, खोला किनार सफा गर्ने, विपद व्यवस्थापन गर्नेलगायत कामलाई निरन्तर जारी राखेको बताउनुभयो ।
पछिल्लो समय राजधानीको सौन्दर्य बिगारिरहेको टेलिफोन र इन्टरनेटका तार व्यवस्थापन गर्ने काम गरिरहेको कामपा प्रहरी बलको भनाइ छ । दैनिक करिब २ ट्रक तार व्यवस्थापन गरिरहेको, फोहोर व्यवस्थापन, नदी सरसफाइ, बोटबिरुवा व्यवस्थापनलगायत कामलाई निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया