लमजुङ।
विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यसहित लमजुङमा आयोजित खुल्ला म्याराथन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा सोलुखुम्बुका अर्जुन कुलुङ प्रथम हुन सफल भएका छन्। उनले २६ किलोमिटर दूरी १ घण्टा ५९ मिनेटमा पूरा गर्दै उपाधि हात पारे। त्यस्तै, सोलुखुम्बुकै मिलन राईले २ घण्टा १ मिनेटमा दूरी पार गर्दै द्वितीय स्थान हासिल गरे। नीरज भट्टा २ घण्टा ६ मिनेटमा लक्ष्य पार गर्दै तृतीय भए भने तनहुँका आदित्य जिसी २ घण्टा ११ मिनेटमा दूरी पूरा गर्दै चौथो स्थानमा रहे।
लमजुङ जेसीज वर्ष २०२६ की अध्यक्ष खुशीमाया गुरुङको अध्यक्षता तथा बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले यस्ता खेलकुद गतिविधिले स्वास्थ्य प्रवर्द्धनका साथै विश्व शान्तिको सन्देश फैलाउन महत्वपूर्ण योगदान पुर्याउने बताए।
अध्यक्ष गुरुङले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै सकारात्मक ऊर्जा सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
बेसीशहर १० पिस हिल देखि बेसीशहर ३ एतिहासिक लमजुङ दरबार सम्म आयोजना गरिएको प्रतियोगितामा कुल ३० जना खेलाडीहरूको सहभागिता रहेको थियो। लमजुङका विभिन्न रमणीय स्थलहरू समेटेर तय गरिएको दौडमार्गले प्रतियोगितालाई अझ आकर्षक बनाएको सहभागीहरूले बताएका छन्।
लमजुङ जेसीज वर्ष २०२६ को आयोजना, बेसीशहर–१० स्थित पिस हिल रिसोर्टको सह–आयोजना तथा बेसीशहर नगरपालिका, मर्स्याङ्दी गाउँपालिका, लमजुङ एजुकेसन सेन्टर र रेडबुल, कृषि विकास बैक, प्रभु बैकको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको लमजुङ जेसीज बर्ष २०२६ का अध्यक्ष खुशीमाया गुरुङले बताइन् । प्रथमले ४० हजार, द्वितीयले नगद ३० हजार, तृतीयले नगद २० हजार र चौथोले रु. १० हजार नगद प्रदान गरिएको अध्यक्ष गुरुङले जानकारी दिइन् ।
कार्यक्रमको सञ्चालन लमजुङ जेसीज बर्ष २०२६ का महासचिव शान्ति श्रेष्ठले गरेकी थिइन्। साथै, यस्ता प्रतियोगितामार्फत खेलकुद विकाससँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।











प्रतिक्रिया