काठमाडौँ।
दक्षिण एसियामा बढ्दो स्वास्थ्य चुनौतीका रूपमा देखिएको मोटोपनलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ काठमाडौँमा ’दोस्रो अन्तर्राष्ट्रिय मोटोपन सम्मेलन’ सुरु भएको छ । साउथ एसियन ओबिसिटी फोरमको आयोजनामा सुरु भएको यस तीन दिने सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका १ सय भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ र ४ सय भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ ।
ओबिसिटी फोरमद्धारा आयोजित पत्रकार सम्मेलनमा फोरमकी अध्यक्ष एवं वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डा. डिना श्रेष्ठले नेपाल लगायत दक्षिण एसियाली देशहरूमा मोटोपन एउटा ’साइलेन्ट किलर’ (मन्द विष) का रूपमा देखा परेको बताउनुभयो । “हाम्रो क्षेत्रमा मोटोपन ठूलो स्वास्थ्य समस्या बनेको छ,“ डा. श्रेष्ठले भन्नुभयो, “यसलाई कम गर्न र जनचेतना फैलाउन दक्षिण एसियाली मुलुकहरूले संयुक्त रूपमा कस्ता कार्यक्रम गर्न सक्छन् भन्ने विषयमा सम्मेलन केन्द्रित हुनेछ ।“
सम्मेलनमा सहभागी भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका विज्ञहरूले मोटोपन केवल शारीरिक बनावटको विषय मात्र नभई यो अन्य गम्भीर रोगहरूको जननी भएको धारणा राख्नुभयो । उहाँहरूका अनुसार मोटोपनलाई समयमै नियन्त्रण नगरे यसले मधुमेह, मुटुरोग, मिर्गौलाको समस्या र श्वासप्रश्वास सम्बन्धी जटिलताहरू निम्त्याउने निश्चित छ ।
के हो मोटोपन र यसका प्रकार ?
विज्ञहरूका अनुसार शरीरमा आवश्यकताभन्दा बढी बोसो जम्मा हुनु नै मोटोपन हो । सम्मेलनमा मोटोपनलाई दुई प्रकारमा वर्गीकरण गरी व्याख्या गरिएको छः
१. बाह्य मोटोपनः जुन शरीरको तौल र बनावटबाट स्पष्ट देखिन्छ ।
२. भित्री (लुप्त) मोटोपनः बाहिर हेर्दा व्यक्ति दुब्लो–पातलो देखिए पनि शरीरका भित्री अंगहरू (कलेजो, मुटु आदि) मा बोसो जमेको हुन्छ । विज्ञहरूका अनुसार यो दोस्रो प्रकारको मोटोपन अझ बढी हानिकारक हुन्छ, जसले गर्दा तौल ठिक भएका व्यक्तिहरूमा पनि अचानक हृदयाघात वा मधुमेहको समस्या देखिन सक्छ।
आहार, विहार र विचारः स्वास्थ्यको मूल मन्त्र
वरिष्ठ इन्डोक्राइनोलोजिष्ट तथा लाइफस्टाइल कोच डा. सन्तोष शाक्यले मोटोपन नियन्त्रणका लागि औषधिको प्रयोगभन्दा पनि जीवनशैलीमा परिवर्तन अनिवार्य रहेको बताउनुभयो । उहाँले मोटोपन घटाउने तीन सुत्रका रूपमा ’आहार, विहार र विचार’ लाई अघि सार्नुभयो । “हामीले के खान्छौँ (आहार), हाम्रो शारीरिक सक्रियता कस्तो छ (विहार) र हाम्रो मानसिक अवस्था वा तनाव व्यवस्थापन कस्तो छ (विचार) भन्ने कुराले नै मोटोपन निर्धारण गर्छ,“ डा. शाक्यले भन्नुभयो । सम्मेलनमा मोटोपनको उपचारमा प्रयोग हुने पछिल्लो प्रविधि, नयाँ औषधिहरू र शल्यक्रिया (ब्यारियाट्रिक सर्जरी) का विषयमा समेत व्यापक छलफल हुने जानकारी दिइएको छ ।
मोटोपनले निम्त्याउने जोखिमहरू
मोटोपनले गर्दा उच्च रक्तचाप, रगतमा कोलेस्ट्रोलको मात्रा बढ्ने, कलेजोमा बोसो जम्ने (फ्याटी लिभर), घुँडा तथा जोर्नी दुख्ने र केही प्रकारका क्यान्सरको जोखिम समेत बढाउँछ । त्यसैले तौल नियन्त्रणका लागि नियमित व्यायाम, जंक फुडको त्याग र सन्तुलित भोजनमा जोड दिन विज्ञहरूले आग्रह गरेका छन् । आइतबारसम्म चल्ने यस सम्मेलनले दक्षिण एसियाली क्षेत्रका लागि मोटोपन नियन्त्रण सम्बन्धी विशेष ’काठमाडौँ घोषणापत्र’ जारी गर्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया