काठमाडौं
वामपन्थी नेता स्वर्गीय विष्णुबहादुर मानन्धरको आत्मकथा ‘संघर्षका पानाहरू’ को शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा विमोचन गरिएको छ।
राजनीतिक, कानुनी तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको सो पुस्तक विमोचन समारोहमा बोल्दै पूर्वराजदूत नीलाम्बर आचार्यले मानन्धरजस्तो निष्ठावान् र सादगीपूर्ण नेता आजको समाजमा दुर्लभ बन्दै गएको बताए । सम्पन्न परिवारबाट आएका भए पनि स्व. मानन्धरले अत्यन्तै सरल र अनुशासित जीवन बिताएको स्मरण गर्दै उनले भने- ‘स्वच्छ छवि र आदर्श जीवनशैलीका प्रतीकका रूपमा रहेका मानन्धर नेपालको किसान, कम्युनिस्ट तथा प्रजातान्त्रिक आन्दोलनका एक महत्वपूर्ण खम्बा हुन्।’ आचार्यले उक्त आत्मकथाले मानन्धरको जीवन र योगदानलाई सधैं जीवित राख्ने विश्वास व्यक्त गर्दै वर्तमान राजनीतिक परिवेशमा उनको जीवनशैली अनुकरणीय रहेको धारणा राखे।

कार्यक्रममा नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास श्रृंखलाका लेखक डा. सुरेन्द्र केसीले कम्युनिस्ट आन्दोलनको इतिहास आफुले लेखेता पनि मनमोहन अधिकारी पत्नी साधना प्रधान नेपालको पहिलो महिला जनप्रतिनिधि भएको जानकार पुस्तकबाट मात्रै पाएको बताए । उनले पुष्पलाललाई गद्धार भनिनु र गणेशमान तथा कृष्णप्रसाद भट्टराईले आन्दोलनबाट बिदा लिनुको ‘पाप’ले अहिले ती दललाई जनताले पनि नपत्याएको भन्दै टिप्पणी गरे । वि. सं. १९८७ पुस ३ मा जन्मेका वामपन्थी नेता विष्णुबहादुर ९१ वर्षको उमेरमा वि. सं. २०७७ चैत १६ मा निधन भएको थियो ।

कार्यक्रममा मानन्धरका सहपाठी तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीदेखि पूर्वमन्त्रीहरू गणेश शाह, चन्द्रदेव जोशीलगायतले नेपालमा कम्युनिस्ट आन्दोलनमा वामपन्थी नेता स्व. मानन्धरको योगदान र लोकतान्त्रिक संघर्षको ऐतिहासिक यात्रामाथि पनि प्रकाश पारेका थिए। उनीहरूले २००७ सालको जनआन्दोलनदेखि सुरु भएको राजनीतिक परिवर्तनको प्रक्रियामा स्व. मानन्धरको कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। त्यसपछिका २०४६ र २०६२/६३ का जनआन्दोलनहरूले देशलाई गणतन्त्र, समावेशिता र संघीयताको दिशामा अग्रसर गराएको उनीहरूको भनाइ थियो। वक्ताहरूले विश्व राजनीति, विशेषगरी दोस्रो विश्वयुद्धपछिको परिवर्तन, साथै छिमेकी देश भारत र चीनमा भएका राजनीतिक रूपान्तरणहरूले नेपाली राजनीतिक चेतनामा गहिरो प्रभाव पारेको पनि स्मरण गरे।

किसान आन्दोलनमार्फत ग्रामीण क्षेत्रमा राजनीतिक चेतना विस्तार भएको र श्रमिक वर्गको संगठित सहभागिताले आन्दोलनलाई बलियो बनाएको चर्चा गरिएको थियो। यद्यपि, विभिन्न राजनीतिक दलबीचको विभाजन, आन्तरिक द्वन्द्व र नेतृत्वगत असहमतिको कारण आन्दोलनले चुनौतीहरू पनि भोग्नुपरेको विश्लेषण कार्यक्रममा प्रस्तुत गरियो। समग्रमा, ‘संघर्षका पानाहरू’ ले नेपालमा लोकतन्त्र, सामाजिक न्याय र राजनीतिक चेतनाको विकासमा योगदान पुर्याउने ऐतिहासिक दस्तावेजका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ। बेला पब्लिकेसन्सले बजारमा ल्याएको उक्त पुस्तकको मूल्य ७२५ रुपैयाँ राखिएको छ ।











प्रतिक्रिया