काठमाडौं ।
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले विश्वमा सामूहिक जिम्मेवारीको आवश्यकता बढाएको बताएका छन्।
मौरिससको पोर्ट लुइसमा सुरु भएको नवौं हिन्द महासागर सम्मेलनमा बोल्दै उनले मध्यपूर्वका द्वन्द्वले नेपालसहित विश्व प्रभावित भएको उल्लेख गरे।
उनले पश्चिम एसियामा कार्यरत नेपालीको सुरक्षालाई सरकारको प्राथमिकता रहेको बताए।
साथै, हिन्द महासागरको स्थिरता इन्धन, आपूर्ति र जीविकोपार्जनसँग जोडिएको भन्दै विश्व शान्तिसँग यसको प्रत्यक्ष सम्बन्ध रहेको धारणा राखे।
मन्त्री खनालले हिमाल र महासागरबीचको अन्तरसम्बन्ध औंल्याउँदै जलवायु परिवर्तनले हिमनदी पग्लिने र समुद्री सतह बढ्ने जोखिम बढाएको बताए। नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा यस विषय उठाउँदै आएको र ‘सगरमाथा संवाद’ सुरु गरेको जानकारी पनि दिए।
उनले नेपाल संवादको साझेदार, भूपरिवेष्ठित राष्ट्रहरूको आवाज र क्षेत्रीय सहकार्यको सेतु बन्न तयार रहेको बताए।











प्रतिक्रिया