भट्टराई भारत भ्रमणमा, दुई अन्तर्राष्ट्रिय कार्यक्रममा सम्बोधन गर्ने


काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार भारत भ्रमणमा जाने भएका छन्। ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको निमन्त्रणामा आयोजित ‘डा। राममनोहर लोहिया स्मृति व्याख्यान’ मा प्रमुख वक्ताका रूपमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।

भ्रमणमा उनीसँगै पूर्वमन्त्री हिसिला यमि पनि सहभागी हुनेछिन्। डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरमा वैशाख १ गते हुने उक्त कार्यक्रममा भट्टराईले सम्बोधन गर्ने कार्यक्रम छ। ग्वालियर बसाइँका क्रममा उनले विद्यार्थी तथा प्राध्यापकहरूसँग अन्तरक्रिया समेत गर्नेछन्।

त्यसपछि उनी नयाँ दिल्ली पुगेर वैशाख २ गते साउथ एसियन युनिभर्सिटीमा ‘नयाँ राजनीति मार्फत नेपालको समृद्धिको मार्ग’ विषयमा मुख्य सम्बोधन गर्नेछन्।

दुवै कार्यक्रम सकेपछि भट्टराई सोही दिन साँझ नेपाल फर्किने कार्यक्रम रहेको उनका स्वकीय सचिवले जानकारी दिएका छन्।