काठमाडौँ ।
काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको टोखामा बिस्का नखः (विस्केट) जात्रा आगामी वैशाख १ देखि ४ गतेसम्म चार दिन मनाइने भएको छ। टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत जात्रा व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न विभिन्न उपसमिति गठन गरिएको जनाएको छ।
चैत मसान्तदेखि सुरु हुने जात्रामा भक्तजन शिवपुरीस्थित बागद्वार स्नान गरी विभिन्न मन्दिर परिक्रमा गर्ने परम्परा रहेको छ। नयाँ वर्षको दिनदेखि रथयात्रा, सिन्दूरजात्रा, जीवित गणेश कुमारीको आगमन, बाजागाजा सहित गाउँ परिक्रमा तथा भजनकीर्तन जस्ता गतिविधि गरिन्छन्।
जात्राको अन्तिम दिन वैशाख ४ गते रथ परिक्रमा गरी आ–आफ्ना देवता घरभित्र्याएपछि जात्रा समापन हुनेछ भने वैशाख ५ गते लिङ्गो ढालेर औपचारिक रूपमा विसर्जन गरिन्छ।
टोखा नगरपालिकाले जात्रा व्यवस्थापनका लागि बजेट विनियोजन गर्नुका साथै सो अवसरमा सार्वजनिक बिदा समेत दिएको जनाएको छ।











प्रतिक्रिया