हेटौंडा ।
नेकपा एमाले हेटौंडा उपमहानगरपालिका–११ का वडा सचिव विष्णुप्रसाद आचार्यले पार्टी परित्याग गर्नुभएको छ । उहाँले पार्टीसँगको आफ्नो आबद्धता अन्त्य गरेको घोषणा गर्नुभएको हो ।
आचार्यले लामो समयदेखि पार्टीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार २०४५ सालदेखि विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको राजनीतिकयात्रा अनेरास्ववियु हुँदै जिल्लास्तरका विभिन्न पदहरुमा सक्रिय रहँदै अगाडि बढेको थियो । उहाँले वडा कमिटी सचिव, संगठित सदस्य तथा विभिन्न संगठनमा जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो ।
२०७२ सालदेखि हेटौंडा–११ मा बसोबास गर्दै आउनुभएका आचार्यले २०७९÷०८० मा वडा कमिटी सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ भूमिअधिकार श्रमिक संगठनको जिल्ला कमिटी सचिवसमेत हुनुभएको थियो । तर, पछिल्लो समय व्यक्तिगत व्यस्तताका कारण करिब १८ महिनादेखि निष्क्रिय रहँदै आएको उल्लेख गर्दै उहाँले पार्टी र सोसँग सम्बद्ध सबै कमिटी तथा साधारण सदस्यतासमेत त्यागेको बताउनुभएको छ । आचार्यले आफ्नो निर्णय व्यक्तिगत भएको उल्लेख गर्दै यसबारे नकारात्मक टिप्पणी नगर्न अनुरोध गर्नुभएको छ ।











प्रतिक्रिया