काठमाडौं।
स्वास्वास्थ्य जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले पहिला भित्रका समस्या अध्ययन गर्ने अनिमात्र निर्णय गर्ने बताएकी छन्। नवनियुक्त मन्त्री मेहताले आफ्नो कार्यकालको मुख्य प्राथमिकता स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति र सेवाग्राही जनतालाई सन्तुष्ट बनाउने रहेको घोषणा गरिन् । शुक्रबार सिंहदरवारस्थित स्वास्थ्य मन्त्रालयमा पदबहाली गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको सुधारका लागि जनशक्तिको मनोबल उच्च हुनुपर्नेमा जोड दिइन् । “स्वास्थ्यकर्मी आफैं सन्तुष्ट नभई उनीहरूबाट शतप्रतिशत क्षमताको अपेक्षा गर्न सकिँदैन,“ उनले भनिन् , “जब चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूले ढुक्क भएर काम गर्ने वातावरण पाउँछन्, तब मात्रै सर्वसाधारण जनताले गुणस्तरीय सेवा प्राप्त गर्न सक्छन् ।“ उनले स्वास्थ्यकर्मीहरूको सन्तुष्टिलाई नै प्रणाली सुधारको प्रस्थानविन्दु मान्ने स्पष्ट पारे। स्वास्थ्य, जनसंख्या, खानेपानीका विषय निकै गम्भिर जनस्वास्थ्यका विषय भएकाले अनुमानका भरमा निर्णय गर्न नमिल्ने उनले बताएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
पछिल्लो समय दक्ष स्वास्थ्य जनशक्ति विदेशिने क्रम चिन्ताजनक रहेको उल्लेख गर्दै उनले यसलाई रोक्नु आफ्नो चुनौती र प्राथमिकता दुवै रहेको बताइन् । नर्सहरूले आफ्नो विशिष्टीकृत क्षमता अनुसार काम गर्ने अवसर नपाएको र चिकित्सकहरूको तलब तथा सेवा सुविधामा समेत व्यावहारिक समस्याहरू रहेको उनको ठम्याइ छ । “पर्याप्त हौसला र उचित सेवा सुविधाको अभावमा हाम्रा दक्ष जनशक्ति बाहिरिइरहेका छन्,“ उनले थपिन ,“उनीहरूलाई स्वदेशमै टिकाइराख्न र यहाँको स्वास्थ्य प्रणालीमा अपनत्व महसुस गराउन ठोस प्रोत्साहनका कार्यक्रमहरू आवश्यक छन् । म त्यसका लागि पहल गर्नेछु ।“
पदबहालीकै दिन कुनै ठूलो वा विवादास्पद निर्णय गर्नुभन्दा पनि पहिले वस्तुस्थितिको गम्भीर अध्ययन गर्ने उनले बताइन । मन्त्रालयका समस्या र आवश्यकताहरूलाई नजिकबाट बुझेपछि मात्रै ठोस कदम चाल्ने उनको भनाइ छ । हतारमा गरिने निर्णयभन्दा परिपक्व र अध्ययनमा आधारित निर्णयले नै दिगो सुधार ल्याउने विश्वास मन्त्री मेहताले व्यक्त गरिन । मन्त्री मेहतालाई मन्त्रालयका सचिव, विभागीय प्रमुख तथा कर्मचारीहरूले स्वागत गरेका थिए । पदबहालीका क्रममा उनले स्वास्थ्य बिमाको प्रभावकारिता र खानेपानीको पहुँचका विषयमा पनि चाँडै कार्ययोजना बनाउने संकेत गरेकी छन् ।











प्रतिक्रिया