रामनवमी विशेष: एक नयाँ रामायण

4.23k
Shares

आउँछौ कि बाल्मिकी नै, भानुभक्त पठाउने?
सच्याउने कि रामायण-नयाँ ग्रन्थ लेखाउने?
देव-असुर हैन पहिले सबै मान्छे बन्नु पर्यो
लोभ, मोह अशान्तिका कारक हुन् भन्नु पर्यो।

जन्म एक, मृत्यु एक, बिहे गर्नु एकै पल्ट
बाचाबन्धन गर्दा चाहिँ सोच्नुपर्छ धेरैपल्ट।
दशरथ यो सत्य बुझुन्-कैकेयी नि लालची नहुन्
देश चलाउने सत्ताधारी जालझेलबाट टाढै रहुन्।

माता-पिता सबैभन्दा हुन ठुला देवी देउता
उनका पनि त्रुटि होलान् सत्य स्वीकार गरौं है त।
पुत्रधर्म निभाउने हो आज्ञाकारी हुनुपर्छ
तर गल्ती देखाउने साहस रामले गर्नुपर्छ।

जंगलतिर हैन राम पुग्नुपर्छ बस्ती बिच
चेतना र प्रगतिको भारी बोकी आफैंसित।
राज्य छाडी हिंडे रामलाई असक्षम ठानिनेछ
षडयन्त्रमा भुले भरत-राजद्रोही मानिनेछ।

लक्ष्मण र सत्रुघ्नले साथ दिउन् सुशासनमा
सीता रहुन् रामसँगै भइ लोककी रानीआमा।
जलाउन-तोड्न छाडी हनुमान लागुन् निर्माणमा
सुसंस्कृत बनुन् प्रजा छोडि निन्दा शंका नाना।

महापण्डित रावणले प्रतिष्ठाको ख्याल राखुन्
यशकीर्ति बढाउन् औ, परस्त्रीको मोह त्यागुन्।
सम्झाउनु छ सीतालाई ‘कहाँ सुनको मृग हुन्छ?’
लोभले विवेकशुन्य पार्छ-मान्छे आफैं पशु बन्छ।

विभिषण हुन् या हुन् सुग्रीव पहिले भ्रातृधर्म रोजुन्
मेघनादले अहम् त्यागि ईमानको पथ खोजुन्।
नहोस् कुनै यज्ञ अब बाबु-छोरा युध्द गर्ने
सतीत्वको प्रमाण दिन नारी जिउँदै जल्नुपर्ने।

सबरीले बोलुन् सत्य-भेद छैन सनातनमा
बाली रहुन् सत्मार्गमा निभाएर राजधर्म।
अयोध्या र विदेहले एक-अर्काको ईज्जत गरून्
प्रतिस्पर्धा उद्यममा होस्-सहयोगमा अघि सरून्।

जनकले भन्नुपर्छ, द्वन्द्व द्वार हो बिनाशको
लंका अनि किस्किन्धाको, जम्बुद्वीप र जगतको।
अयोध्या होस् रामसँगै, उतै रामराज्य बनोस्
जानकीको जन्मभूमि सुशासनको स्वर्ग बनोस्।

मनमुटाव हटोस् जनमा-स्वधर्ममा गर्व गरून्
स्वाभिमानको खेतबारी पसिनाले सिंचित गरून्।
आउँछौ कि बाल्मिकी नै, भानुभक्त पठाउने?
सच्याउने कि रामायण-नयाँ ग्रन्थ लेखाउने?