काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार गठन र मन्त्री छनोटको विषयलाई लिएर तीव्र राजनीतिक गतिविधि देखिएको छ। वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन भएसँगै अब सरकारमा को–को मन्त्री बन्ने भन्ने विषयमा सर्वत्र चासो बढेको हो।
रास्वपाको नेतृत्वमा बन्ने नयाँ सरकारको प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले आज शपथ लिने कार्यक्रम तय भएको छ। पार्टीले १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने आन्तरिक तयारी गरेको स्रोतले जनाएको छ।
यससँगै प्रमुख मन्त्रालयहरूमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा शीर्ष तहमा निरन्तर छलफल भइरहेको छ।
उच्च स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मेवारी डा. स्वर्णिम वाग्ले लाई दिने लगभग निश्चित भइसकेको छ।
त्यस्तै ऊर्जा मन्त्रालयका लागि सागर ढकाल को नाम टुंगिएको बताइएको छ। परराष्ट्र मन्त्रालयको नेतृत्व भने शिशिर खनाल ले गर्ने सम्भावना बलियो रहेको छ।
स्वास्थ्य मन्त्रालयमा डा. लेखजंग थापा लाई जिम्मेवारी दिने सहमति बनेको दाबी गरिएको छ भने शिक्षा मन्त्रालयका लागि सस्मित पोखरेल को नाम लगभग अन्तिम चरणमा पुगेको स्रोतको भनाइ छ। यद्यपि उपसभापति डिपी अर्याल को जिम्मेवारी भने अझै टुंगो लाग्न बाँकी रहेको छ।
यसैबीच अन्य सम्भावित मन्त्रीहरूको सूची पनि तयार पारिएको छ। जसमा मनिष झा, विराजभक्त श्रेष्ठ, सुनिल लम्साल, अमरेश कुमार सिंह, केपी खनाल, सुलभ खरेल, दिपक बोहोरा, विश्वराज पोखरेल, सोबिता गौतम, डा. तोसिमा कार्की, राजु पाण्डे, खगेन्द्र सुनार, रन्जु न्यौपाने र आनन्द चन्द लगायतका नाम सर्टलिस्टमा परेका छन्।
यसअघि उपसभामुख रहिसकेकी इन्दिरा राना को नाम पनि मन्त्रीका लागि सर्टलिस्टमा राखिएको छ।
तर उनलाई सभामुख बनाउने विषयमा समेत समानान्तर छलफल भइरहेको जनाइएको छ।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच मन्त्री चयनबारे निरन्तर परामर्श भइरहेको छ। बिहीबार संसदीय दलको नेता चयन प्रक्रिया सकेपछि दुवै नेता संयुक्त रूपमा मन्त्रीको सूची तयार गर्ने उद्देश्यसहित छलफलमा जुटेका थिए।
पार्टी स्रोतका अनुसार मन्त्री चयन गर्दा निर्वाचित सांसदहरूको योग्यता, क्षमता र कार्यसम्पादनको सम्भावनालाई मुख्य आधार बनाइनेछ। सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर सरकार सञ्चालन गर्ने लक्ष्यसहित मन्त्री छनोटको प्रक्रिया अघि बढाइएको बताइएको छ।
नयाँ सरकारबाट जनताले अपेक्षा गरेको सुधार र सेवा प्रवाहमा तीव्रता ल्याउने उद्देश्य राखिएको छ। यस सन्दर्भमा मन्त्री चयनलाई अत्यन्त संवेदनशील र रणनीतिक रूपमा हेरिएको र अन्तिम सूची छिट्टै सार्वजनिक गरिने तयारी रहेको रास्वपाले जनाएको छ।











प्रतिक्रिया