काठमाडौ ।
राष्ट्रपति कार्यालयबाट नयाँ मन्त्रीको पदवहालीका लागि तयारी गर्न निर्देशन आएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आन्तरिक तयारीमा जुटेको छ।
आजै देशले नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको छ भने सोही दिन मन्त्रिपरिषद् विस्तारसहित विभागीय मन्त्रीहरूको सपथ र पदवहाली पनि हुने कार्यक्रम तय गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने निश्चित भएसँगै राजनीतिक वृत्तमा नयाँ सरकार गठनको गतिविधि तीव्र बनेको छ।
प्रधानमन्त्रीको सपथ ग्रहणसँगै मन्त्रीहरूको नियुक्ति प्रक्रिया अघि बढाइने तयारी गरिएको भए पनि हालसम्म कति मन्त्रालय रहने र कुन मन्त्रालयमा को–को मन्त्री नियुक्त हुने भन्ने विषयमा औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई राष्ट्रपति कार्यालयबाट नयाँ स्वास्थ्य मन्त्रीको पदवहालीका लागि आवश्यक तयारी गर्न निर्देशन प्राप्त भएको मन्त्रालय स्रोतले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नयाँ स्वास्थ्य मन्त्री आजै पदभार ग्रहण गर्न आउने निश्चित भए पनि मन्त्रीको नाम भने अझै टुंगो लागेको छैन। उनले मन्त्रालयभित्र आवश्यक प्रशासनिक र प्राविधिक तयारी भइरहेको जानकारी दिए।
उता, रास्वपाको शीर्ष नेतृत्व अहिले मन्त्रीहरूको नाम टुंग्याउने अन्तिम छलफलमा जुटेको छ। पार्टी अध्यक्ष रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपाध्यक्ष डिपी अर्याल तथा डा. स्वर्णिम वाग्ले लगायतका नेताहरूबीच आज बिहानैदेखि बैठक जारी रहेको बताइएको छ।
स्रोतका अनुसार पार्टीले सबै सांसदलाई बिहान ११ बजे राष्ट्रपति कार्यालयमा उपस्थित हुन निर्देशन दिइसकेको छ। सोही समय आसपास मन्त्रीहरूको नाम सार्वजनिक हुने सम्भावना रहेको छ।
रास्वपाले यसअघि नै सरकारमा विज्ञहरूलाई प्राथमिकता दिने नीति सार्वजनिक गरिसकेको छ। सोही अनुसार मन्त्रीहरूलाई सहयोग गर्न प्रत्येक मन्त्रालयमा कम्तीमा चार जना विज्ञ सांसद रहने गरी सचिवालय निर्माण गर्ने योजना पनि अघि सारिएको छ। यसले नीतिगत निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, मन्त्रालयहरूको संख्या घटाउने र केही मन्त्रालय गाभ्ने विषयमा पनि रास्वपा सकारात्मक देखिएको छ। मन्त्रालय गाभ्ने विषयमा सम्भवतः नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय गाभ्ने चर्चा समेत चलिरहेको छ।
नयाँ सरकार गठनसँगै प्रशासनिक संरचना, नीतिगत प्राथमिकता र कार्यशैलीमा परिवर्तन आउने अपेक्षा गरिएको छ। आज हुने सपथ ग्रहण र पदवहाली कार्यक्रमले नयाँ सरकारको प्रारम्भिक स्वरूप स्पष्ट पार्नेछ भने आगामी निर्णयहरूले सरकारको दिशा निर्धारण गर्नेछन्।











प्रतिक्रिया