ललितपुर ।
नेवाः समुदायअन्तर्गत स्यस्यः जातिहरूले भोलि चैत्र १४ गते शनिवार पाटनदरबार क्षेत्रमा सांस्कृतिक बाजागाजाका साथ नगर परिक्रममा गर्ने भएका छन् ।
स्यस्यः समाज यलको १२औं स्थापना दिवसका अवसरमा नगर परिक्रमा, सम्मान तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्न लागेको हो । ‘झी स्यस्यः, झी नेवाः, झीगु तजिलजि’ (हामी स्यस्यः, हामी नेवाः, हाम्रो पहिचान) भन्ने मूल नारा सो दिवस मनाउन लागिएको हो ।
सचिव चन्द्रकृष्ण श्रेष्ठका अनुसार बिहान ८ बजे पाटन दरबार क्षेत्र मंगलबजारबाट ¥यालीको सुरुआत हुनेछ । ‘दमोखिं नगडा बासुरी बाज’ को मौलिक ताल सहित सो ¥याली हौगल, तिच्छुगल्ली, इखालखु, बालुखा, पूर्णचण्डी, गावहाल हुँदै अशोक पार्टी प्यालेस, वालिफलमा पुगी समापन हुनेछ । हजारौंको सहभागिता रहने यो कार्यक्रम स्यस्यः समुदायको मात्र नभई सम्पूर्ण पाटनवासीका लागि पनि एउटा ऐतिहासिक दिन हुनेछ ।
मूल समारोहको बिहान ११ः३० बजे अशोक पार्टी प्यालेस, बालिफलमा हुनेछ । कार्यक्रममा उद्घाटन पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले गर्नुहुनेछ । साथै, ललितपुर महानगरपालिकाका मेयर, उपमेयर, संघीय तथा प्रदेश सरकारका मन्त्री तथा सांसदहरू, प्रशासनिक र सुरक्षा निकायका प्रमुखहरू, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत रहने जनाइएको छ ।
सो अवसरमा उत्कृष्ट स्यस्यः सम्मान, उत्कृष्ट इलाका पुरस्कार, यशस्कर सम्मान, आजीवन सदस्य सम्मान, उत्कृष्ट विद्यार्थी पुरस्कार प्रदान गरिने छ । समाजले भाषा, संस्कृति, शिक्षा र सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्व तथा विद्यार्थीहरूलाई यी सम्मानहरू प्रदान गर्न लागेको हो ।
कार्यक्रममा ‘दमोखिं नगडा बासुरी बाज’ को प्रस्तुति रहनेछ । यो नेवा समुदायको प्राचीन सांस्कृतिक धरोहर हो । एक समयमा हरेक जात्रा, तथा विभिन्न शुभकार्यमा बज्ने यो बाजा अहिले लोप हुने क्रममा रहेका छन् । स्यस्यः समाजले यस्ता लोपोन्मुख बाजाहरू युवापुस्तालाई सिकाउँदै संरक्षण गर्दै आएको छ ।
समाजका अध्यक्ष नवीन मंगल जोशीले सम्पूर्ण स्यस्यः समुदाय तथा शुभेच्छुकहरूलाई उक्त ऐतिहासिक अवसरमा सक्रिय सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन हार्दिक आग्रह गरेको छ । समाजका अनुसार ललितपुरको भित्री बस्तीमा स्यस्यः जातिका ३० हजारभन्दा बढी मतदाता रहेका छन् । यसपटकको १२औं स्थापना दिवस समुदायको एकता, पहिचान र सांस्कृतिक गौरवको प्रतीकका रूपमा रहने विश्वास गरिएको छ ।











प्रतिक्रिया