–पहिलो मन्त्रिपरिषद्को बैठक आजै बस्ने
–पहिलो मन्त्रिपरिषद् बैठकबाटै महत्वपूर्ण निर्णय आउन सक्ने
काठमाडौं ।
शंखनाद, स्वस्ति शान्ति र आध्यात्मिक ऊर्जाबीच देशले आज (शुक्रवार) नयाँ राजनीतिक अध्याय सुरु गर्दै छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आजदेखि औपचारिक रूपमा मुलुकको प्रधानमन्त्री बन्दै हुनुहुन्छ । जेन–जी आन्दोलनको जग र युवा पुस्ताको चाहनाबमोजिम बालेनले मुलुकको नेतृत्व गर्न लाग्नुभएको हो । बालेन जनआन्दोलन २०४६÷४७ पछिको लोकतान्त्रिक व्यवस्थामा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने नेताका रूपमा रहनुहुनेछ । उहाँ २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मनुभएको थियो ।
संसद्मा झन्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपाका संसदीय दलका नेताको हैसियतमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(१) अनुसार आज बिहान प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम तय भएको छ । नियुक्तिलगत्तै मध्याह्न १२ः३४ बजे शुभ साइतमा बालेनले पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । शपथ समारोहलाई परम्परा, संस्कृति र राष्ट्रिय एकताको अद्वितीय संगमका रूपमा भव्य बनाइँदै छ ।
समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ बटुकद्वारा स्वस्ति शान्ति वाचन, १०८ लामाद्वारा मंगल पाठ तथा १६ भिक्षुबाट अष्टमंगल पाठ गरिने कार्यक्रमले वातावरणलाई आध्यात्मिक र सांस्कृतिक ऊर्जाले भरिने अपेक्षा गरिएको छ । शपथपछि प्रधानमन्त्री बालेनले अपराह्न २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्दै औपचारिक रूपमा कार्यभार सम्हाल्नुहुनेछ । सोका लागि सम्पूर्ण तयारी पूरा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
रास्वपाले बिहीबार साँझमात्रै बालेनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको थियो । त्यसलगत्तै रास्वपा संसदीय दलको कार्यालयले राष्ट्रपति कार्यालयलाई औपचारिक जानकारी गराएको थियो ।
विशेष कुरा के छ भने शपथ लिएकै दिन प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ ।
विगतको भन्दा सानो, चुस्त र परिणाममुखी मन्त्रिपरिषद् बनाउने संकेत उहाँको सचिवालयले दिएको छ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेपछि एकल सरकार गठनको बाटो खुलेको हो । प्रधानमन्त्रीसँगै मन्त्रीहरूको शपथ पनि आजै शीतल निवासमा गराइनेछ । त्यसपछि मन्त्रीहरू सिंहदरबार पुगेर आ–आफ्नो जिम्मेवारी सम्हाल्ने कार्यक्रम तय गरिएको छ ।
त्यसै गरी, नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक पनि आजै बस्ने तयारी छ । जसले ‘छिटो निर्णय, चुस्त शासन’ को संकेत दिँदै महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । २१ फागुनमा भएको निर्वाचनमा बालेन झापा क्षेत्र नं ५ बाट सर्वाधिक मतसहित विजयी हुनुभएको थियो । बालेनले सिभिल इन्जिनियरिङमा ब्याचलर्स र स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्ससम्मको अध्ययन गर्नुभएको छ ।











प्रतिक्रिया