काठमाडौँको असन र इन्द्रचोकको त्यो साँघुरो गल्ली, जहाँ मानिसहरूको भीड र व्यापारको चटारो कहिल्यै थामिँदैन । तर, त्यही भीडको बीचमा एउटा यस्तो रहस्यमयी थलो छ, जहाँ पाइला टेक्ने बित्तिकै समयको गति टक्क रोकिए झैँ भान हुन्छ । त्यो हो मछिन्द्र बहाल । त्यहाँको मन्दिरको द्वारभित्र विराजमान छन् जनबहाः द्यः अर्थात् सेतो मच्छिन्द्रनाथ । ती दुई कञ्चन, स्थिर र गहिरा आँखाहरू, जसले दशौँ शताब्दीदेखि काठमाडौँको फेरिँदो रूप, ढल्केका मल्लकालीन दरबार र बदलिएका शासकहरूलाई एकनासले नियालिरहेका छन् । कसैका लागि उनी वर्षाका अधिपति हुन्, कसैका लागि ‘आर्य अवलोकितेश्वर’ अर्थात् करुणाका महासागर । यो काठमाडौंको माटोमा भिजेको सहअस्तित्वको त्यो जीवन्त दस्तावेज हुन्, जसले हिन्दु र बौद्ध दर्शनलाई एउटै डोरीमा उनेर संसारलाई धार्मिक सहिष्णुताको कञ्चन ऐना देखाइरहेका छन् ।
सेतो मच्छिन्द्रनाथको उत्पत्तिका पछाडि राजा यक्ष मल्लको शासनकालका अनेक किंवदन्तीहरू प्रचलनमा छन् । यो अगाध आस्थाको जग एउटा अलौकिक र विष्मयकारी घटनामा उभिएको छ । भनिन्छ, प्राचीन कालमा जमलको उर्वर खेत खनिरहेका एक सामान्य किसानको कुटो एउटा कठोर वस्तुमा ठोकियो । माटो पन्छाएर हेर्दा त्यहाँ एउटा दिव्य, सेतो र चम्किलो मूर्ति प्रकट भयो । ती किसानले त्यसलाई असाधारण पत्थर ठानेर आफ्नो घरको भकारीमा लुकाए । त्यसपछि सुरु भयो चमत्कारको सिलसिला । घरमा अन्न कहिल्यै नसकिने, वर्षौंदेखिका स्थानीय बिरामीहरू एकाएक निको हुन थाल्यो । तर, दैवी शक्तिको त्यो विशाल रापलाई एउटा सामान्य मानिसको घरले थेग्न सक्ने अवस्था थिएन । अन्ततः, ती ‘करुणामय’ लाई सम्मानका साथ जनबहालमा प्रतिस्थापन गरियो । त्यही प्राचीन खोजको सम्झनामा आज पनि जमलको त्यही पवित्र माटोबाट रथयात्रा सञ्चालन गरिन्छ । जहाँबाट यस सहरी सभ्यताको आध्यात्मिक उदय भएको थियो ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीको सूर्योदयसँगै काठमाडौँको आकाशमा एउटा बेग्लै ऊर्जा छाउँछ । ३२ हात (करिब ४८ फिट) अग्लो तथा भव्य रथ जब जमलको सडकमा ठडिन्छ, तब लाग्छ काठमाडौँका प्राचीन देवताहरू पुनः सहर सयरमा निस्किएका छन् । यो रथ केवल काठ र डोरीको संरचना मात्र होइन, यो त ‘प्राचीन इन्जिनियरिङ’ को एउटा विष्मयकारी नमुना पनि हो । अचम्मको कुरा त के छ भने, यति विशाल र गरुङ्गो रथलाई अड्याउन एउटा पनि फलामको किला प्रयोग गरिँदैन । बेत र विशेष प्रकारका डोरीहरूको लचकताले बाँधिएको यो रथ काठमाडौँका साँघुरा गल्ली र कठिन घुम्तीहरूमा लच्किँदै अघि बढ्छ । रथका चार विशाल पाङ्ग्राहरूले चार शक्तिशाली ‘भैरव’ को सुरक्षा कवचको प्रतिनिधित्व गर्छन् भने यसको शिखरले भगवान् बुद्धका ३२ लक्षणहरूलाई मौन रूपमा व्याख्या गरिरहेको हुन्छ ।
रथयात्राको पहिलो, दोस्रो र तेस्रो दिन, जब रथ जमलबाट असनको भीड छिचोल्दै, हनुमानढोका दरबार क्षेत्र हुँदै जैसीदेवलतिर लम्किन्छ, तब उत्सवले आफ्नो चरम रूप लिन्छ । रथयात्राको क्रममा सैनिकहरूले गर्ने ‘हर्षबढाइँ’ र आकाश गुञ्जिने गरी पड्काइएका राइफलका गोलीका आवाजले कुनै प्राचीन युद्ध जितेर फर्केको विजयी योद्धाको झझल्को दिन्छ । अझ भावुक र मर्मस्पर्शी दृश्य त तब देखिन्छ, जब रथले लगनटोलमा रहेकी मच्छिन्द्रनाथकी आमाको मन्दिरलाई तीन पटक परिक्रमा गर्छ । यो दृश्यले केवल धर्म मात्र होइन, मातृवात्सल्य, पारिवारिक मूल्य र प्रेमको गहिरो सन्देश प्रवाह गर्दछ । एउटा शक्तिशाली देवता पनि आफ्नी आमाको दैलोमा पुग्दा नतमस्तक हुन्छ भन्ने यो दृश्यले जो कसैको मन पगाल्छ ।
पाँच दिनसम्म चल्ने यो करुणाको महाकुम्भमा ‘दाफा भजन’ को शास्त्रीय गुञ्जन, ‘खिं’ र ‘ताः’ को तालमा उन्मुक्त भएर नाच्ने हजारौँ युवाहरू र रथको डोरी समातेर पुण्य कमाउन मरिहत्ते गर्ने भक्तहरूको सागर देख्दा आधुनिकताको प्रलयकारी बाढीमा पनि काठमाडौँको प्राचीन सभ्यता र संस्कार जीवन्त रहेको कुरा प्रष्ट हुन्छ । गुठी संस्कार र सामाजिक ऐक्यबद्धताको यो यस्तो बलियो कडी हो, जसलाई न त कुनै प्राकृतिक प्रकोपले हल्लाउन सक्यो, न त समयको निष्ठुरी बेगले नै । यो जात्राले नेवार समुदायको एकता र काठमाडौँवासीको साझा पहिचानलाई विश्वसामु गर्वका साथ प्रस्तुत गरिरहेको छ । अन्तिम दिन, जब देवतालाई रथको सिंहासनबाट ओरालेर पुनः जनबहालमा पु¥याइन्छ, तब एक वर्षका लागि एउटा ऐतिहासिक अध्यायको समापन हुन्छ । सेतो मच्छिन्द्रनाथको रथ यात्रा केवल एउटा धार्मिक जात्रा मात्र होइन, यो त काठमाडौँको धड्कन हो, जुन शताब्दीयौँदेखि निरन्तर धड्किरहेको छ र मानवताको रक्षाका लागि अनन्तकालसम्म चलिरहनेछ ।











प्रतिक्रिया