काठमाडौं।
दीर्घबहादुर केसी कुमारसहितको प्यानलले विवादास्पद अग्रिम निर्वाचन बहिष्कार गर्ने निर्णय लिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फालाई बुधबार निलम्बन गरेपछि केसीले निर्वाचनमा भाग लिन नहुने भन्दै सो निर्वाचनमा भाग नलिने बताएका हुन् ।
अध्यक्ष पदमा उम्मेदवार दिएका केसीले राखेपको निर्णयलाई आधार मान्दै यस्तो अवस्थामा निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेको बिहीबार भएको पत्रकार सम्मेलनमा बताए । उनले यस निर्वाचन स्वार्थका लागि हुन लागेको पनि बताए ।
यस्तै वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका एनआरटी क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले पनि निर्वाचनमा भाग नलिने बताए । यसैगरी उपाध्यक्षमा उम्मेदवारी दिएका सरस्वती क्लबका अध्यक्ष उत्तम भण्डारी पनि आज हुने निर्वाचनमा भाग नलिने भएका छन् ।
निर्वाचनमा हिमालयन शेर्पा क्लवका अध्यक्ष तथा एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले पनि भाग नलिने पत्रकार सम्मेलनमा बताए । फ्रेण्ड्स क्लब र मनाङ मस्र्याङ्दी क्लबका प्रतिनिधि पनि निर्वाचन बहिष्कार गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित थिए ।
राखेपले बुधबार साँझ मात्र एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । परिषदले एन्फाले आफ्ना निर्देशनहरु पटक–पटक अटेर गर्दै खेलकुद ऐनअनुसार स्विकृति नलिई निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाएको छ । यद्यपि निलम्बनका बावजुद एन्फा चैत १३ गते जसरी पनि निर्वाचन गर्ने अन्तिम तयारी गरिरहेको छ ।











प्रतिक्रिया