काठमाडौँ।
१३औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०२६ अन्तर्गत राजधानीस्थित द रोलिङ स्टोन्स स्कुलमा आयोजित कार्यक्रममा विभिन्न देशका लोक कलाकारहरूले आकर्षक प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध बनाएका छन्।

बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा नेपालसहित भारत, बोट्सवाना, एस्टोनिया, जर्मनी र दक्षिण अफ्रिकालगायत देशका कलाकारहरूले आफ्नो मौलिक लोकसंस्कृति, संगीत, नृत्य तथा परम्परागत कला प्रस्तुत गरेका थिए। विभिन्न परम्परागत बाजासहित प्रस्तुत गरिएका लोकनृत्यहरूले विद्यार्थी र दर्शकलाई उत्साहित बनाएका थिए।

कार्यक्रमको मुख्य उद्देश्य नेपाली लोकसंगीतको प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्तालाई समृद्ध सांस्कृतिक सम्पदासँग जोड्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले उत्साहपूर्वक ताली बजाउँदै कलाकारहरूलाई साथ दिएका थिए, जसले विद्यालयमा उत्सवमय वातावरण सिर्जना गरेको थियो।

कार्यक्रममा कलाकारहरूले आधुनिक समयमा लोकसंगीत संरक्षणको महत्वबारे जानकारी दिँदै विद्यार्थीहरूलाई आफ्ना मौलिक कला र संस्कृतिप्रति सम्मान र चासो राख्न प्रेरित गरेका थिए। कला र संगीत शिक्षामा जोड दिने भएकाले उक्त विद्यालयलाई कार्यक्रमका लागि छनोट गरिएको हो।

कार्यक्रमका क्रममा कक्षा ६ का विद्यार्थीहरूले नेवारी नृत्य प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय कलाकारहरूलाई प्रभावित पारेका थिए। विद्यालयकी निर्देशक बिनी श्रेष्ठले सहभागी कलाकारहरूलाई खादा र पुष्पगुच्छाद्वारा सम्मान गरेकी थिइन् भने विदेशी कलाकारहरूले विद्यालयलाई मायाको चिनो प्रदान गरेका थिए।

एभरेष्ट नेपाल कल्चरल ग्रुपको मुख्य आयोजनामा सम्पन्न उक्त मेला “पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार” भन्ने नारासहित सञ्चालन भइरहेको छ। मेला काठमाडौं महानगरपालिका र वज्र कला कुञ्जको संयुक्त आयोजना तथा वडा नं. २३ कार्यालयको सह–आयोजनामा भइरहेको हो।

हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस मेलामा यस वर्ष नेपालसहित बोट्सवाना, इस्टोनिया, इजरायल, जर्मनी, भारत, ताइवान र दक्षिण अफ्रिकाका गरी २६० भन्दा बढी कलाकारहरूको सहभागिता रहेको छ। मेला काठमाडौंका विभिन्न स्थानसहित पोखरा, ललितपुर, काभ्रे र बूढानीलकण्ठमा पनि आयोजना गरिएको थियो।

यसैक्रममा भोलि शुक्रबार काठमाडौंको बसन्तपुर र हनुमानढोकामा सांस्कृतिक ¥याली आयोजना हुने आयोजकले जनाएको छ।












प्रतिक्रिया