–४ घण्टासम्म गोली चल्दा राज्य निस्क्रिय, फौजदारी लापरबाही ठहर
काठमाडौं ।
भदौ २३ र २४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन आसपास ‘जेन–जी’ युवा समूहको आन्दोलनका क्रममा भएको मानवीय क्षति र सुरक्षा व्यवस्थामा देखिएको गम्भीर कमजोरीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीदेखि सुरक्षा निकायका शीर्ष नेतृत्वसम्मलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको छ ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई घटनाको मुख्य जिम्मेवार ठहर गरेको हो । जनआस्था साप्ताहिकले आफ्नो अनलाइन संस्करणमार्फत सार्वजनिक गरेको सो प्रतिवेदनमा विभिन्न उच्चपदस्थहरूलाई कारबाहीको सिफारिस गरिएको पाइएको हो । फौजदारी अपराधमा कारबाही सिफारिस गरिएकाले उनीहरुलाई १० वर्षसम्म जेल सजाय हुनसक्ने देखिएको छ ।
आयोगका अनुसार आन्दोलनका क्रममा करिब ४ घण्टासम्म गोली चलिरहँदा पनि स्थिति नियन्त्रणमा लिन प्रभावकारी पहल नगरिएको, आवश्यक निर्देशन र समन्वयमा गम्भीर कमी देखिएको तथा मानव अधिकारको उल्लंघन भएको निष्कर्ष निकालिएको छ । प्रतिवेदनले शीर्ष राजनीतिक नेतृत्वलाई ‘फौजदारी लापरबाही’ र जिम्मेवारीबाट पन्छिएको आरोप लगाएको छ ।
आयोगले मुलुकी अपराध संहिताअनुसार ‘लापरबाहीपूर्ण कार्य’ अन्तर्गत उनीहरूमाथि कारबाही अघि बढाउन सरकारलाई सिफारिस गरेको छ । यससँगै, आयोगले प्रशासनिक, सुरक्षा तथा खुफिया निकायका उच्च अधिकारीहरूलाई समेत जिम्मेवार ठहर गर्दै विस्तृत रूपमा कारबाही सिफारिस गरेको छ ।
अन्य को कोलाई गरियो कारबाही सिफारिस ?
प्रशासनिक तथा सुरक्षा नेतृत्व
गोकर्णमणि दुवाडी, तत्कालीन गृह सचिव
राजु अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक
हुत्तराज थापा, तत्कालीन प्रमुख राष्ट्रिय अनुसन्धान विभाग
छविराज रिजाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी, काठमाडौं
नेपाल प्रहरीतर्फ
सिद्धिविक्रम शाह, एआईजी, कार्य विभाग प्रमुख
ओमबहादुर राना, डीआईजी, रानीपोखरी
विश्व अधिकारी, एसएसपी, काठमाडौं प्रहरी प्रमुख
दीप शम्शेर जबरा, एसएसपी
ऋषिराम कँडेल, एसपी, विशेष कार्यदल
दानबहादुर कार्की, तत्कालीन एआईजी
सशस्त्र प्रहरी बलतर्फ
नारायणदत्त पौडेल, एआईजी, अपरेसन कमान्डर
सुरेशकुमार श्रेष्ठ, डीआईजी, बाहिनीपति
जीवन केसी, एसपी
राष्ट्रिय अनुसन्धान विभाग
कृष्णप्रसाद खनाल, सह–निर्देशक
रिबेनकुमार गच्छदार, जिल्ला प्रमुख
नेपाली सेनातर्फ
मनोज बैदवार, सहायक रथी
दिवाकर खड्का, प्रमुख सेनानी
गणेश खड्का, प्रमुख सेनानी
सन्तोष ढुङ्गेल, सेनानी
अन्य समूह
टीओबी ग्रुप : भीडलाई उक्साउने र शान्ति भङ्ग गर्ने कार्यमा संलग्न भनिएका मोटरसाइकलमा आएका व्यक्तिहरू (फौजदारी संहिताको दफा ३५ अनुसार छानबिन गर्न सिफारिस) ।











प्रतिक्रिया