लन्डन, (एजेन्सी)
फुटबलको दुनियाँमा उमेर केवल एउटा अंक मात्रै हो भन्ने तथ्यलाई ३७ वर्षीय पोलिश स्टार रोबर्ट लेवान्डोस्कीले पुनः एकपटक प्रमाणित गरिदिएका छन् । हालै न्यूक्यासल यूनाइटेडविरुद्धको च्याम्पियन्स लिग भिडन्तमा जादुमयी प्रदर्शन गर्दै बार्सिलोनाका यी भेट्रान स्ट्राइकरले फुटबल इतिहासमा आफ्नो नाम अझ चम्किलो बनाएका हुन् ।
अन्तिम १६ को दोस्रो लेगमा दुई उत्कृष्ट गोल थपेसँगै लेवान्डोस्की च्याम्पियन्स लिगको नकआउट चरणमा सबैभन्दा धेरै गोल गर्ने तेस्रो खेलाडी बने । उनले फ्रान्सेली स्टार करिम बेन्जेमाको ३४ गोलको कीर्तिमानलाई उछिनेर आफ्नो गोल संख्या ३६ पु¥याएका छन् ।
अब उनीभन्दा अगाडि फुटबलका दुई महान हस्ती क्रिस्टियानो रोनाल्डो (६७ गोल) र लियोनेल मेसी (४९ गोल) मात्र बाँकी छन् । जसलाई लेवान्डोस्कीले पछिल्लो समय निकै कडा टक्कर दिइरहेका छन् ।
लेवान्डोस्कीको यो उपलब्धि गोलमा मात्र सीमित छैन । उनले आधुनिक फुटबलका जादुगर मानिने लियोनेल मेसीको एउटा अनौठो कीर्तिमानलाई समेत उछिनेका छन् । यसअघि ४० वटा फरक–फरक टोलीविरुद्ध गोल गरेर मेसीले बनाएको रेकर्डलाई तोड्दै लेवान्डोस्कीले अब च्याम्पियन्स लिगमा ४१ वटा फरक क्लबविरुद्ध गोल गर्ने दुर्लभ कीर्तिमान आफ्नो नाममा गरेका छन् ।
सन् २०२४ को नोभेम्बरमै १०० गोलको ऐतिहासिक आँकडा पार गरेका उनको कुल गोल संख्या अहिले १०९ पुगिसकेको छ । अझ रोचक कुरा त के छ भने, मेसी र रोनाल्डो जस्ता दिग्गजहरूले भन्दा पनि कम म्याच खेलेर उनले आफ्नो गोलको शतक पूरा गरेका थिए । डर्टमण्डको जर्सीबाट सुरु भएको उनको यो लोभलाग्दो यात्रा बायर्न म्युनिख हुँदै अहिले बार्सिलोनाको मैदानसम्म आइपुग्दा पनि उस्तै धारिलो देखिन्छ ।











प्रतिक्रिया