जाँचबुझ आयोगलाई देउवाको बयान: भदौ २३–२४ का घटना षड्यन्त्रपूर्ण, विवरण एआई जेनेरेटेड हुन सक्छन्


काठमाडौँ।

शेरबहादुर देउवा ले भदौ २३ र २४ का घटनालाई नितान्त षड्यन्त्रपूर्ण भएको दाबी गरेका छन्। जेनजी घटनासम्बन्धी जाँचबुझ आयोगलाई दिएको बयानमा उनले ती दिनको घटनामा कसको संलग्नता छ भन्ने थाहा नभएको स्पष्ट पारेका छन्।

देउवाका अनुसार, “यो नितान्त षड्यन्त्र हो, तर कसले गर्‍यो थाहा भएन। मेरो निवासमा भएको तोडफोड, आगजनी र लुटपाट सम्बन्धमा नेपाल प्रहरीले मुचुल्का तयार पारेको छ, तर कारबाहीको जानकारी मसँग छैन। मैले राजनीतिक हस्तक्षेप वा पक्षपात गरेको छैन र प्रहरीले घटनाको सही आंकलन गर्न नसकेको विषयमा राजनीतिक हस्तक्षेप भएको भन्नेमा म सहमत छैन।”

उनले घटनाका दिनबारे विस्तृत विवरणसमेत दिएका छन्। भदौ २३ गते बूढानीलकण्ठ वडा नं. २, बासुकी मार्गस्थित निवासमा र बेलुका वालुबाटारमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको उनले बताए। औपचारिक बैठकमा सहभागी नभएको पनि उनले स्पष्ट पारे।

भदौ २४ गते बिहान १० बजे आफ्नो निवासमा प्रदर्शनकारी भेला भएको, सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा केही हातपात भएको र केही जेनजी युवाहरूले सहयोग गरेको उनले बताए। “हामी राति करिब २२ बजे सुरक्षित स्थानमा पुगेका थियौँ,” उनले भने।

साथै देउवाले आफ्नो निवासमा ठूलो रकम नभएको पनि स्पष्ट पारे। “नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा भेटिएको रकम ठूलो परिमाणमा थिएन। सामाजिक सञ्जालमा फैलिएका विवरण एआई जेनेरेटेड हुन सक्छन्,” उनले उल्लेख गरे।