खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने तीन पक्राउ


मुगु।

मुगुको सदरमुकाम गमगढीमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्दै आएका तीन जना मासु व्यापारीलाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमाण्डमा खटिएको टोलीले गमगढीमा सञ्चालनमा रहेका तीन वटा मासु पसलमा छापा मार्दा मासु तयारी अवस्थामा राखिएका बाख्री र मासुसहित व्यवसायीहरूलाई नियन्त्रणमा लिएको हो । स्थानीय उपभोक्ताबाट खसीको नाममा बाख्रीको मासु बिक्री भइरहेको भन्ने गुनासो आएपछि प्रहरीले तीन दिनदेखि निगरानी तथा अनुसन्धान गरिरहेको थियो ।

सोही क्रममा लामो समयदेखि मासु व्यवसाय सञ्चालन गर्दै आएका रावत मासु पसल, बोहोरा मासु पसल र आफन्त होटलबाट एक–एक वटा बाख्रीसहित सम्बन्धित व्यवसायीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सदरमुकाम गमगढीमा आधिकारिक रूपमा मासु व्यवसाय सञ्चालन गर्ने एक दर्जनभन्दा बढी व्यक्ति तथा फर्महरू रहेका छन् । तर केही व्यवसायीले लामो समयदेखि उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्रीको मासु बिक्री गर्दै आएको खुलेको छ । सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन नहुँदा उपभोक्ताहरू ठगीमा पर्दै आएका थिए ।

राष्ट्रिय उपभोक्ता हित संरक्षण समिति मुगुका अध्यक्ष चित्रबहादुर मल्लले प्रहरीले प्रमाणसहित व्यवसायीलाई नियन्त्रणमा लिएकाले अब कानुनी प्रक्रिया अनुसार कारबाही अगाढी बढ्न सक्ने बताए ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रवीराज थपलियाका अनुसार, विगत ६ महिनादेखि यस्तो गतिविधि भइरहेको सूचना आए पनि ठोस प्रमाण फेला परेको थिएन । बुधबार बिहान सादा पोशाकमा खटिएको प्रहरी टोलीले तीन वटा बाख्रीसहित व्यवसायीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका बाख्री र मासुको पशु चिकित्सकमार्फत परीक्षण गरिने र त्यसपछि मात्र सम्बन्धित कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।