सुनको बिस्कुट देखाई १४ लाख ठगी, एक जना पक्राउ


काठमाडौं।

सुनको बिस्कुटजस्तो देखिने पहेँलो धातु देखाएर १४ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिल नभएको र अत्यन्तै पैसाको आवश्यक परेको भन्दै पीडितलाई ललाई–फकाई सुनजस्तो देखिने धातु बिक्री गरी १४ लाख ठगी गरिएको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान तथा खोजतलास तीव्र पारिएको थियो।

अनुसन्धानका क्रममा यही चैत ९ गते बेलुकी करिब ७ बजे काठमाडौं महानगर नजिकै पर्ने टोखा नगरपालिका–९ शिवमन्दिरस्थित एक होटलको कोठाबाट सिन्धुली हरिहरपुरगढी गाउँपालिका–७ घर भएका ३८ वर्षीय विजय लामा मोक्तान भनिने धनवीर वाईबालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको साथबाट झोलाभित्र लुकाई राखिएको ५४७.६९० ग्रामको सुनजस्तो देखिने पहेँलो धातु, बिल १ थान, चेकबुक १ थान, राहदानी १ थान, मोबाइल ३ थान, सुनको मुन्द्रा १ थान तथा नगद १,०२० बरामद गरेको जनाएको छ।

पक्राउ परेका वाईबामाथि ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत रहन पनि आग्रह गरेको छ।