राखेपले दियो एन्फालाई २४ घण्टाको समय


काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । एन्फाले प्रचलित कानुन विपरीत निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाउँदै राखेपले सो चेतावनीसहितको निर्देशन दिएको हो ।

एन्फाका पदाधिकारीहरू यही चैत १३ गते हुने निर्वाचनका लागि झापा गएका हुनाले राखेपको पत्र एन्फाले प्राप्त गर्न सकेन । एन्फाले कार्यालय मंगलबार बिहानै बन्द भएको सूचना जारी गरेको थियो । जसले गर्दा राखेप पत्र लिएर गएका व्यक्ति रित्तो हात फर्केका थिए ।

उक्त पत्रमा एन्फाले आवश्यक समन्वय नगरी तथा स्वीकृति नलिई साधारण सभा र निर्वाचनको तालिका सार्वजनिक गरेको उल्लेख गरिएको छ । यसअघि पनि परिषद्ले फागुन २५ गते पत्र पठाउँदै कानुनी प्रक्रिया पूरा नभएसम्म साधारण सभा र निर्वाचन स्थगित गर्न भनेको थियो ।

राखेपले युवा तथा खेलकुद मन्त्रालयको राय र मन्त्रीस्तरीय निर्णयका आधारमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुसार निर्देशन दिएको जनाएको छ । तर एन्फाले त्यसको पूर्ण पालना नगरेको राखेपको भनाइ छ ।

एन्फाले भने अन्तर्राष्ट्रिय निकाय फिफा र एएफसीको निर्देशनलाई आधार मानेर निर्वाचन स्थगित गर्न नसकिने जवाफ दिएको छ । यसबीच एन्फा तोकिएकै मितिमा निर्वाचन गर्ने तयारीमा रहेको छ । एन्फाले सूचना प्रकाशित गर्दै चैत १३ गते निर्वाचन हुने दिन सचिवालय बन्द रहने जनाइसकेको छ ।

राखेपको कार्यकारी समितिको बैठकले ऐनको दफा २९ अनुसार थप प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । साथै, एन्फामाथि कारबाही किन नगर्ने भन्ने विषयमा पनि स्पष्टीकरण मागिएको छ ।

क्लबहरूको एन्फाविरुद्धको अनशन स्थगित
सहिद स्मारक लिगका ए,बी र सी डिभिजन क्लबहरूले ९ दिनदेखिको अनशन तोडेका छन् । ‘होम एन्ड अवे’ लिगको माग गर्दै क्लबका प्रतिनिधि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको गेटबाहिर बसेको अनशन जुस पिएर अनशन तोडेका हुन् । क्लबहरूको अनुसार अनशन हाल स्थगित मात्रै गरिएको जनाएको छ ।

क्लब प्रतिनिधिहरूले राष्ट्रिय लिग र सहिद स्मारक महिला लिगमा सहभागी खेलाडीहरूको व्यवस्थापन, विदाई, र क्लबको आर्थिक व्यवस्थापन सम्बन्धी असहज अवस्था समाधान गर्नुपर्ने भएकाले अनशन स्थगन गर्ने निर्णय लिएको बताइयो ।