सुन्दर भविष्यको कल्पना र बालेन सरकार

470
Shares

लामो समयसम्म एकै खालको सरकारलाई झेलिरहेको मुलुकले कुनै अन्य अवस्था सृजना भएन भने चैत्र १३ गते बालेन्द्र साहको नेतृत्वमा रास्वपाको चुस्त सरकार पाउनेछ । अबको युग नयाँ पुस्ताको युग हो भन्ने आदर्शलाई स्थापित गर्दै नेपाली जनताले युवालाई मुलुकको नेतृत्व प्रदान गराउने उद्देश्यसहित प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई लगभग दुई तिहाइ सदस्य निर्वाचित हुने गरेर मतदान गरेका छन् ।

आफ्नो मत जाहेर गर्दै गर्दा अधिकांशले ‘अबकी सरकार बालेन सरकार’ भन्ने नारालाई सार्थक बनाउन मतपत्रमा स्वस्तिक छाप लगाएका थिए । पुराना राजनीतिक दलहरुका एकै खाले कुनै पनि दलिलहरुलाई अधिकांश मतदाताले विश्वास गर्न चाहेनन् । अपवादलाई छाडेर पुराना राजनीतिक दलका स्थापित सबै नेतालाई मतदाताले अस्वीकृत गरिदिए ।

विगतमा बालेन साहले विभिन्न बाधा–व्यवधानसँग संघर्ष गरेर स्वतन्त्र मेयरको रुपमा जसरी काठमाडौं महानगरपालिकाको स्वरुप परिवर्तन गराउने प्रयास गरेका थिए, त्योभन्दा तीव्र गतिमा मुलुकको मुहार फेर्नेछन् भन्ने नेपाली मतदाताहरुले विश्वास गरे अर्थात् आफ्नो मतमार्फत दोस्रो राजनीतिक विद्रोह गरे ।

जेनजीहरुको विद्रोहपछि भएको निर्वाचनले राजनीतिमा धेरै कुराको सन्देश दिन प्रयास गरेको देखिन्छ । प्रथमतः भाद्र २३ र २४ गते जुन जेनजी विद्रोह भएको थियो, त्यसलाई यो निर्वाचनले अनुमोदन गरेको छ । लामो इतिहास बोकेका भनिएका जिम्मेवार पुराना राजनीतिक दलहरुले लोकतन्त्र र प्रजातन्त्रको नाममा जनतामाथि धोखा दिएका थिए भन्ने जेनजी असन्तुष्टिलाई यो निर्वाचनको मत परिणामले पुष्टि गरिदिएको छ ।

आजको वर्तमान नवीन राजनीतिमा कुनै पनि खाले दम्भ, अहंकार, स्वेच्छाचारिता किमार्थ स्वीकार्य हुँदैन भन्ने तथ्यलाई यो निर्वाचनले स्थापित गरिदिएको छ । राजनीतिमा सर्वसत्तावादलाई अब कुनै स्थान छैन भन्ने मात्र होइन, हिजोको दिनमा अन्तिमसम्म त्यस्ता चरित्रलाई साथ दिने र अवस्था परिवर्तन हुनासाथ ‘हामी त सच्चियौं है’ भन्ने खहरे प्रकृतिको दलिललाई पनि स्वीकारिँदो रहेनछ भन्ने तथ्य पुष्टि भएको छ ।

विगतका सरकारहरुको कारण नेपाली समाज, नेपाली संस्कृति, नेपाली पहिचानमा क्रमशः धमिरो लाग्दै गरेको पक्कै हो । हाम्रा सुन्दर गाउँबस्तीहरु क्रमशः मानवविहीन क्षेत्रमा परिणात हुन थालिरहेको छ । युवाहरु स्वदेशमा साधारण अवसर पनि नेदेखेर विदेशी भूमिमा आफ्नो रगत–पसिना बगाउन बाध्य भइरहेका छन् । वृद्ध आमाबुबाहरु सहाराविहीन भएर कष्टकर जीवन बिताउन बाध्य भइरहेका छन् ।

यस्ता विविध विकराल अवस्थाबाट मुक्ति पाउनको लागि नेपाली जनताले परिवर्तन खोजेका थिए, जसलाई आफ्नो मत परिवर्तनमार्फत सार्थक बनाउने प्रयास गरेका छन् । नेपाली मतदाताले पक्कै अब नयाँ युगको चाहना गरेका छन् । यो युगमा सक्कली सुशासन, दाग नलागेको प्रशासन, जिम्मेवार नेतृत्व, ठोस कार्यनीति, दूरदर्शी रणनीतिसहितको नेतृत्वको आवश्यकता छ भन्ने चाहना रहेको देखिन्छ ।

पुराना राजनीतिक दलहरुमा आफूले खोजेको कुशल नेतृत्व जनताले देखेनन् । त्यसकारण नयाँ दलमा त्यो सम्भावना देखेर नै विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब दुई तिहाइ मतका साथ विजय गराइदिएका छन् र पुराना राजनीतिक दलहरुलाई सच्चिनको लागि आगामी पाँच वर्ष लामो फुर्सदको समय प्रदान गरेका छन् ।

घटना सामान्य भए पनि त्यसले परिणाम कति भयावह दिन्छ भन्ने पुराना दलहरुले अवश्य पाठ सिकेको हुनुपर्दछ । पक्कै पनि हिजो काठमाडौं महानगरपालिकाका मेयरलाई काम गर्न अवरोध गर्ने उद्देश्यले कार्यकारी प्रमुखलगायतका विषयमा सरकारले गरेको बेइमानी व्यवहारको हिसाबकिताब पूरै नेपाली मतदाताले राम्रोसँग राखेका रहेछन् ।

हिजो आफ्नो राजनीतिक स्वार्थसिद्ध गराउनको लागि रास्वपा सभापति रवि लामिछानेलाई मुद्दैमुद्दा सृजना गरेर समाप्त पार्न खोजेको घटनालाई नेपाली मतदाताले राम्रैसँग मूल्यांकन गरिरहेका रहेछन् । हिजो रवि लामिछानेसहितको सरकारले भ्रष्टाचारका विभिन्न फाइलहरु खोलेर थोरै भए पनि मुलुकमा सुशासन प्रत्याभूत गर्न खोज्दा उल्टै संदिग्ध व्यक्तिहरुलाई नै सरकारमा राखेर जनभावनाको हुर्मत लिन खोजेको घटनाको पनि नेपाली मतदाताले राम्रै हिसाब राखेका रहेछन् ।

यी कुराहरु हेर्दा सामान्य र पूर्वाग्रहजस्तो लाग्ला तर जनताले हरेक घटनालाई सूक्ष्मरुपमा अवलोकन गरिरहेको स्पष्ट छ । यो शिक्षा अब बन्ने बालेन सरकारले पनि ग्रहण गर्नुपर्ने हुन्छ । अन्यथा इतिहास पल्टन समय लाग्दैन ।
यस्तै घटनाहरुलाई विश्लेषण गरेर यो निर्वाचनमा पुराना राजनीतिक दलहरुको लागि नेपाली मतदाताको मत

सुनामीको रुपमा नै आयो, जसले कुरीति र कुसंस्कारको कुनै कसिँगर बाँकी नरहने गरी बढारिदियो । पक्कै निर्वाचन भनेको जनताको विवेक परीक्षण गर्ने भरपर्दो माध्यम रहेछ । राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको अगाध विश्वास र पुराना दलहरुप्रति रहेको तीव्र अविश्वास नेपाली जनताले आफ्नो मतको विद्रोहमार्फत प्रकट गरिदिए । हार कस्तो हुन्छ भन्ने बुझ्नै नचाहने अहंकारीहरुलाई जनताले हारको पगरी नै पहिराइदिए । जनताले आफ्नो मतबाट नै परिवर्तनको उद्घोष गरिदिए ।

अब युवाको कुशल राज नेपाली जनताले खोजेका छन् । जनताप्रति उत्तरदायी सरकार नेपाली जनताको सपना बनेको छ । यो सपना साकार पार्ने जिम्मेवारी बालेन्द्र साह र रास्वपाको काँधमा आएको छ । आगामी ५ वर्ष बालेन्द्र साहले मुलुकको प्रगतिको महाअभियानमा रास्वपा सभापति रवि लामिछानेलाई सारथीको रुपमा प्राप्त गर्नेछन् ।

महाभारत युद्धमा अत्याचारविरुद्ध जसरी कृष्ण र अर्जुनको जोडीले सफलता हासिल गरेका थिए, त्यसै गरी हाम्रो मुलुकमा भएको बेथितिविरुद्धको युद्धमा रवि–बालेनको जोडी परिणाममुखी हुनेछ भन्ने आम नेपालीको विश्वास छ । यो विश्वास कुनै पनि हालतमा तोडिँदैन भन्ने विश्वास हो । बेथितिहरुको अन्त्यको लागि हामीले सुधार गर्नुपर्ने कुराहरु धेरै छन् । सुधारको लागि संविधान, ऐन, कानुन, नीति, नियममा पनि धेरै सुधारको आवश्यक छ ।

जे गर्नुपर्ने हो त्यो द्रुत गतिमा गर्नुपर्दछ । हुन त राम्रो काम गर्नको लागि कानुन बाधक छ भन्ने पनि होइन, बहाना बाधक बनिरहेको थियो । हिजोसम्म हाम्रो निर्वाचन प्रणाली ठीक भएन, यस्तो प्रणालीमा कुनै पनि दलले सामान्य बहुमत पनि ल्याउन सक्दैन भनेर संविधान संशोधन गर्नुपर्छ भन्नेहरुको भ्रमलाई यो निर्वाचनले तोडिदिएको छ । जनताले आवश्यक ठाने भने बहुमत मात्र होइन, दुई तिहाइ नै आउँछ भन्ने राम्रो सन्देश प्राप्त भएको छ ।

तर पनि संविधानका केही व्यवस्थाहरुमा सुधार गर्नुपर्ने आवश्यकता भने छ । एक कोणबाट संघीयताको खराब पक्ष पनि औंल्याउने गरिएको पाइन्छ । तर संघीयता नराम्रो होइन, यसको प्रयोग शैली नराम्रो भएको हो । संघीयतालाई सुदृढ गराउनको लागि राजनीतिक संस्कारमा व्यापक सुधारको खाँचो छ । संघीयता कुर्सीमा पुग्न, ओहोदा ओगट्नको लागि होइन, मुलुक बनाउनको लागि प्रयोग गर्नुपर्दछ ।

आज संघीयता बदनाम हुनुमा वा यसप्रति वितृष्णा बढ्नुमा संघीयतालाई नेताको व्यवस्थापनको लागि मात्र प्रयोग गर्न खोजिएको कारणले नै हो । भुल्नुहुँदैन, संघीयतालाई उचित रुपमा प्रयोग गरियो भने यसले नै मुलुकको समानुपातिक विकास सम्भव हुनेछ । जे गर्ने हो, विशेष एजेन्डामा राष्ट्रिय सहमति निर्माण गरेर गर्दा दिगो र प्रभावकारी हुनेछ ।
स्वीकार्नै पर्दछ, संविधानसभाबाट निर्मित संविधान आफैँमा उत्कृष्ट संविधान हो भन्ने कुराको पुष्टि निर्वाचनले गरिदिएको छ । जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले तोकेको समयमा निर्वाचन गर्न सक्नु पनि यो संविधानको विशेषता हो । यो निर्वाचनले हिजोको राजनीतिक शक्तिलाई मात्र होइन, आजको नयाँ शक्तिलाई पनि राम्रो पाठ सिकाएको छ ।

हिजोका विकृतिलाई एक झड्कामा बढार्न सक्ने नेपाली जनताले भोलि कुनै गैरजिम्मेवार शक्तिको उदय हुन पुग्यो भने त्यसलाई झन् कुन प्रकारले समाप्त पारिदिनेछन् भन्ने कुराको सन्देश नेपाली जनताले भाद्र २३ र फागुन २१ गतेको घटनाहरुबाट उद्घोष गरिसकेका छन् । यो कुरालाई निर्वाचित प्रतिनिधिसभा सदस्यको प्रशिक्षण कार्यक्रममा पार्टी सभापतिले स्पष्ट व्यक्त गरिसकेका छन् । तसर्थ अब बन्ने सरकारले प्रत्येक पाइला गम्भीर भएर चाल्नु आवश्यक छ । बालेन सरकारप्रति नेपाली जनताको तीव्र भरोसा छ, विश्वास छ ।

रास्वपाले स्वीकार्नै पर्छ कि फागुन २१ को निर्वाचनमा नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएका होइनन्, जनादेश दिएका हुन् । मुलुकलाई सही ढंगबाट अघि बढाऊ, मुलुकमा गरिखाने अवस्थाको सृजना गर, नेपालीको श्रम नेपालकै विकासमा खर्च गर्न सक्ने वातावरण सृजना गर भनेका हुन् । रास्वपालाई सुस्त हिँड्ने छुट छैन । ‘दुई वर्षमा बन्ने सडक डेढ वर्षमा बन्नुपर्छ’, ‘किसानको उत्पादनको सही मूल्य पाउनुपर्छ’, ‘काठमाडौं अधिकार माग्न जाने होइन, घुम्न जाने हो’ भन्नेजस्ता बालेनको उद्घोषप्रति नेपाली जनताको विश्वासको मत हो ।

भ्रष्टलाई दण्डित गर्ने मात्र होइन, तिमी पनि कुनै बहानामा भ्रष्ट हुँदैनौ भन्ने विश्वास हो । तिमी युवा हौ, प्रविधिको विकास गर्छौ, प्रविधिमा नै टेकेर अघि बढ्छौ भन्ने विश्वास हो । पक्कै नयाँ सरकारले जनताको तीव्र आकांक्षालाई पूरा गर्नुपर्नेछ । सुशासनको प्रत्याभूति गर्नुपर्ने भएको छ । हिजो देखिएका कुर्सीको लागि लुछाचुँडीको राजनीतिक संस्कारको अन्त्य भएको सन्देश दिनुपर्ने भएको छ । नयाँ सरकार गठन नहुँदै रास्वपालाई कसरी चिरा पार्न सकिन्छ भनेर तानाबाना बुन्नेहरुको षड्यन्त्र यत्रतत्र छरिन थालिसकेको छ । यो कुरामा रवि–बालेन गम्भीर हुनै पर्दछ ।

बालेन सरकारले सुशासनबाट आफ्नो अभियान थालनी गर्नुपर्नेछ । विगतमा भएका भ्रष्टाचारजन्य अपराधहरुलाई अब दोहोरिन दिनुहुँदैन भन्ने मात्र होइन, विगतमा भएका भ्रष्टाचारहरुको निर्मम तरिकाले छानबिन गरी शीघ्र कानुनको दायरामा ल्याउनुपर्ने भएको छ । जेनजी आन्दोलनमा भएको दमन र लुटपाटको सम्बन्धमा छानबिन गर्न बनेको आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको अवस्था छ । त्यो प्रतिवेदन सार्वजनिक हुनुअघि नै विभिन्न कोणबाट धम्कीका आवाजहरु आउन थालिसकेका छन् ।

बालेन सरकारले कुनै पनि खाले राजनीतिक आग्रह–पूर्वाग्रहको एकरती छनक नदिई अपराध गर्नेहरुलाई कुनै हालतमा माफी दिनुहुँदैन भन्ने छ । रास्वपाले स्वमूल्यांकन गर्नै पर्दछ, रास्वपाले राम्रो गरेको थियो, त्यसैले जनताले भोट दिए होइनन्, रास्वपाले राम्रो गर्छ भन्ने विश्वासमा जनताले मत दिएका हुन् । हिजो मत दिएकाहरु रास्वपाका न कार्यकर्ता थिए, न सदस्य नै थिए । रास्वपालाई अन्य दलका धेरैभन्दा धेरै कार्यकर्ता तथा सदस्यहरुले मत दिएका थिए ।

मत दिँदैमा व्यक्ति आफ्नो सदस्य हुँदैनन् अर्थात् हिजोका मतदाताहरुले न पुरानो पार्टी त्याग गरिसकेका छन्, न नयाँ पार्टीमा समाहित भइसकेका छन् । उनीहरुले मत मात्र परिवर्तन गरेका हुन् । उनीहरुको मन परिवर्तन गराउनको लागि बालेन सरकारले इमानदारीपूर्वक अहोरात्र कार्य गर्नुपर्नेछ । सानो मात्र त्रुटि–कमजोरी हुन गयो भने हिजो मत परिवर्तन गरेका मतदाताहरुले आफ्नो मन तुरुन्त परिवर्तन गर्नेछन् ।

यो वास्तविकता भुल्नुहुँदैन– ‘नेपाली जनताको लागि विश्वासको अन्तिम आधार नै अब बन्ने बालेन सरकार हुनेछ ।’ यो सरकार पनि चुक्यो भने जनतामा दलतन्त्र र लोकतन्त्रप्रति कुनै पनि विश्वास बाँकी रहनेछैन । त्यसपछि मुलुक अन्धकारमा जाकिनेछ । तसर्थ मुलुकको भविष्य बालेन सरकारको सुझबुझमा भर पर्दछ । भुल्नुहुँदैन– आज बालेन वा रास्वपाप्रति नागरिकमा जुन विश्वास छ, त्योभन्दा कैयौँ गुणा ठूलो विश्वास र भरोसा हिजोका नेताहरुमाथि थियो ।

हुन त उनीहरुले बेलामा मुलुकको लागि आफूलाई समर्पित नगरेका पनि होइनन् । उनीहरुले आफ्नो ज्यानको बाजी ठोकेर संघर्ष पनि गरेका थिए । आजसम्मको परिवर्तनको लागि उनीहरुले आफ्नो जीवन अर्पेका पनि हुन् ।

तर सत्तामा पुगेपछि उनीहरुले आफ्नो वास्तविक धरातल बिर्सिए, जिम्मेवारी बिर्सिए अनि आफू नागरिकबाट नै आएको नागरिकको प्रतिनिधि हुँ भन्ने पनि बिर्सिए । आत्मानुभूति हुनै पर्दछ, अब बन्ने सरकारमा जाने नेताहरुको योगदान इतिहासमा प्रायः शून्य नै छ । यद्यपि जनताले विश्वास गरेका छन् । जनताको विश्वास भनेको उनीहरु इमानदार हुन्छन्, हिजो राम थिएनन् होला तर भोलि कदापि रावण बन्दैनन् भन्ने रहेको छ ।

परिवर्तनले जति सम्भावना देखाएको छ त्यति नै जोखिमको पनि संकेत बढाएको छ । तसर्थ अब बन्ने सरकारले इमानको टोपी गुथेर, जिम्मेवारीको भाव बोकेर, जनताको वास्तविक सेवक हुँ भन्ने सम्झेर, शतप्रतिशत इमानदार भएर कार्य गर्नुपर्ने हुन्छ । अब बन्ने बालेन सरकार इमानदार मात्र भएर हुँदैन, सक्षम र सशक्त पनि बन्नुपर्दछ । रास्वपाप्रति जनताको माया छ, विश्वास छ तर आजसम्म नभोगेको कारण आशंका पनि उत्तिकै छ ।

तसर्थ रास्वपाका जिम्मेवार नेताहरुले दिनको एकपटक आफ्नो बाचापत्र अध्ययन गरी त्यो पूरा गर्न इमानदारीपूर्वक खटिनुपर्छ । त्यसपछि जनताको विश्वास मात्र होइन, सधैँ साथ रहनेछ । यता विश्वमा छरिएर रहेका नेपालीहरु पक्कै स्वदेशमै पसिना बगाउने अवसर बालेन सरकारले सृजना गर्नेछ भन्ने विश्वासका साथ हेरिरहेका छन् । उनीहरु शान्त नेपालको कल्पना गरेर फर्कने साइत कुरिरहेका छन्, फर्कनेछन् र मिलेर नेपाल बनाउनेछन् ।
(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ ।)