काठमाडौं ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीप्रति नागरिकको विश्वास बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौंमा आयोजित पशुपतिनाथ बाहिनी मुख्यालयको २२औं स्थापना दिवसका अवसरमा राजधानीको नयाँ बानेश्वरस्थित बाहिनी मुख्यालयमा मंगलवार आयोजित समारोहको उद्घाटन गर्दे उहाँले सो कुरामा जोड दिनुभएको हो । उहाँले भन्नुभयो– ‘सुरक्षाकर्मी देख्दा नागरिकमा डर होइन, भरोसा जाग्नुपर्छ ।’ यही सोच र सिद्धान्तलाई व्यवहारमा उतार्न सम्पूर्ण सशस्त्र प्रहरीलाई निर्देशन दिँदै उहाँले सेवामुखी र जिम्मेवार कार्यशैली अपनाउन आग्रह गर्नुभयो ।
राजधानी काठमाडौं सुरक्षा दृष्टिले जटिल र संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै महानिरीक्षक अर्यालले पशुपतिनाथ बाहिनीको कार्यसम्पादनको खुलेर प्रशंसा गर्नुभयो । उहाँले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन, भीआईपी तथा भीभीआईपी सुरक्षा, महत्वपूर्ण संरचनाहरूको संरक्षण, साथै बन्द–हड्तालका बेला नागरिकको सुरक्षामा बाहिनीले उल्लेखनीय भूमिका निर्वाह गरेको पनि बताउनुभयो ।
महानिरीक्षक अर्यालले निर्वाचनको सफल र शान्तिपूर्ण सम्पन्नताले नेपालको सुरक्षा संयन्त्र सक्षम र प्रभावकारी रहेको प्रमाणित गरेको पनि बताउनुभयो । साथै उहाँले मातहतका सुरक्षाकर्मीलाई परिणाममुखी ढंगले अझ जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभयो ।
सो अवसरमा बाहिनीपति तथा प्रहरी अतिरिक्त महानिरीक्षक सुरेश श्रेष्ठले संगठनको नीति र निर्देशनअनुसार बाहिनीले निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो ।
उपत्यकामा हुने बन्द, हड्ताल, प्रदर्शन र विरोधका कार्यक्रमहरूमा शान्ति–सुरक्षा कायम राख्न बाहिनी सक्रिय रहेको उहाँको भनाइ थियो । वार्षिकोत्सवको अवसर पारेर बाहिनीले रक्तदान कार्यक्रम, कविता प्रतियोगितालगायतका विभिन्न सामाजिक तथा सिर्जनात्मक गतिविधिहरूसमेत आयोजना गरेको जनाएको छ ।











प्रतिक्रिया