काठमाडौं ।
सरकारले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने महत्वाकांक्षी लक्ष्य लिएको भए पनि वर्तमान तथ्यांकले यो लक्ष्य प्राप्ति अझै चुनौतीपूर्ण देखिएको छ । अझै पनि करिब ४२ प्रतिशत बिरामी उपचारको पहुँच बाहिर रहनु र ठूलो संख्यामा बिरामी पहिचान नै हुन नसक्नुले अवस्था गम्भीर रहेको संकेत गरेको छ ।
विश्व क्षयरोग दिवसको सन्दर्भ पारेर सार्वजनिक गरिएको विवरणअनुसार नेपालमा प्रत्येक वर्ष करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी थपिने अनुमान गरिएको छ । तर, तीमध्ये ठूलो हिस्सा स्वास्थ्य प्रणालीको दायरामा आउन नसक्दा रोग नियन्त्रणमा जटिलता थपिएको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. भुवन पौडेलका अनुसार नेपालमा वार्षिक रूपमा करिब ६९ हजार मानिस क्षयरोगबाट प्रभावित हुने गरेका छन् भने हरेक वर्ष करिब १६ हजार जनाको मृत्यु हुने अनुमान छ । उहाँका अनुसार हरेक दिन औसत ४४ जनाको क्षयरोगका कारण मृत्यु हुनु गम्भीर चिन्ताको विषय हो ।
विश्व स्वास्थ्य संगठनका तथ्यांकअनुसार सन् २०२३ मा विश्वभर १ करोड ६ लाख मानिस क्षयरोगबाट संक्रमित भएका थिए भने १३ लाखभन्दा बढीको मृत्यु भएको थियो । नेपालमा सन् २०२४ मा प्रतिएक लाख जनसंख्यामा २ सय २७ जनामा संक्रमण दर रहेको अनुमान गरिएको छ भने मृत्युदर प्रतिएक लाखमा ५३ जना रहेको छ ।
गत आर्थिक वर्ष २०८१÷८२ मा नेपालमा ३९ हजार १ सय ५१ जना क्षयरोगका बिरामी पहिचान गरी उपचारमा ल्याइएको थियो । तीमध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र करिब ५.६ प्रतिशत बालबालिका रहेका छन् । उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोसम्बन्धी र २८ प्रतिशत फोक्सोबाहेक अन्य अंगमा देखिने क्षयरोगका बिरामी रहेका छन् ।
यस्तै, औषधि प्रतिरोधी क्षयरोगका ६ सय २५ जना बिरामी पहिचान गरिएको छ, जसको उपचार जटिल र महँगो हुने गर्दछ । उपचार सफलताको दर औषधि संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधि प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत रहेको केन्द्रले जनाएको छ । नेपालमा मुख्य रूपमा तीन प्रकारका क्षयरोग देखिन्छन् ।
फोक्सोसम्बन्धी, फोक्सो बाहिरको र औषधि प्रतिरोधी । तीमध्ये फोक्सोसम्बन्धी क्षयरोग सबैभन्दा बढी देखिने प्रकार हो, जसमा लामो समयसम्म खोकी लाग्ने, रगत आउने, तौल घट्ने र ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । सरकारले क्षयरोग नियन्त्रणका लागि देशभर निःशुल्क परीक्षण तथा उपचार सेवा सञ्चालन गर्दै आएको छ । हाल ६ हजार २ सय ४१ स्वास्थ्य संस्थाबाट सेवा प्रदान भइरहेको छ भने ७ सय ८५ संस्थामा माइक्रोस्कोपी सेवा र १ सय ४२ संस्थामा द्रुत परीक्षण सेवा उपलब्ध छ । औषधि प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन् ।
त्यसै गरी १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल’ अभियान विस्तार गरिएको छ । आधुनिक परीक्षण प्रविधि विस्तार, समुदायस्तरमा सचेतना कार्यक्रम र निजी क्षेत्रसँग सहकार्य बढाउने प्रयास पनि भइरहेको छ । तर, यस्ता प्रयासका बाबजुद आर्थिक अभाव, जनचेतनाको कमी, सामाजिक विभेद (कलङ्क) र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको सीमित पहुँचजस्ता कारणले रोग नियन्त्रणमा अझै बाधा पु¥याइरहेका छन् ।
विशेषज्ञहरूका अनुसार क्षयरोग नियन्त्रणका लागि समयमै परीक्षण, नियमित उपचार र समुदायस्तरमा व्यापक जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक छ । साथै, निजी क्षेत्र, स्थानीय तह र सञ्चारमाध्यमसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । सरकारले लिएको लक्ष्य महत्वाकांक्षी भए पनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सकिएन भने क्षयरोग नेपालका लागि अझै दीर्घकालीन जनस्वास्थ्य संकटकै रूपमा रहिरहने चेतावनी विज्ञहरूले दिएका छन् ।











प्रतिक्रिया