काठमाडौं ।
शुक्रवार प्रधानमन्त्रीको शपथ लिन लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छनोट अन्तिम चरणमा पुगेको छ । मन्त्री आकांक्षीको भीडबीच पार्टी अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता शाह अन्तिम सूची टुंग्याउने कसरतमा जुट्नुभएको छ । दुवै नेताका निकटहरू मन्त्री बन्न दौडधुपमा छन् । मन्त्रीका आकांक्षी धेरै भएपछि बालेन र रविलाई मन्त्री छनोटमा सकस परेको छ ।
सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डोलप्रसाद (डीपी) अर्याल र डा. स्वर्णिम वाग्ले, शिशिर खनाललगायतका नेता केही दिनदेखि मन्त्री छनोटका लागि आन्तरिक छलफलमा व्यस्त छन् । छलफलमा व्यस्त भएका नेता पनि आफू मन्त्री हुने कि नहुने भन्ने विषयमा छलफल गरिरहेका छन् ।
रास्वपाका सांसद एवं बालेननिकट नेता राजुनाथ पाण्डेले हालसम्म मन्त्री बन्नेहरूको टुंगो लागिनसकेको बताउनुभयो । ‘प्रधानमन्त्री बन्न लाग्नुभएका वरिष्ठ नेता शाह र अध्यक्ष लामिछानेले मन्त्रीको नाम तयार भएको एकदुई घण्टाअघि शपथका लागि बोलाउनुहुनेछ, त्यसपछिमात्र जानकारी हुनेछ’ –पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
एक नेताका अनुसार बालेन्द्रको तर्फबाट सहपाठीसमेत रहनुभएका स्ट्रक्चरल इन्जिनियर सुनील लम्सालले शक्तिशाली मन्त्रालय पाउने निश्चितजस्तै छ । बालेन काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार भएदेखि नै निकट रहेर लगातार उहाँलाई सहयोग गर्दै आइरहनुभएका लम्साललाई गृह वा भौतिक पूर्वाधार मन्त्रालय दिने तयारी रहेको बताइएको छ ।
रास्वपाले सहरी र भौतिक पूर्वाधार मन्त्रालयलाई एउटै बनाउने तयारी गरेको छ ।
बालेनको समूहबाट राजुनाथ पाण्डे, सस्मित पोखरेलको नामसमेत मन्त्रीका लागि चर्चामा छ । पोखरेललाई शिक्षा मन्त्रालयल दिने लगभग पक्कापक्की छ । रास्वपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलको नाम परिवर्तन गरेर शिक्षा, युवा तथा खेलकुद मन्त्रालय बनाउने तयारी छ ।
रास्वपाबाट अर्थमन्त्रीमा स्वार्णिम वाग्ले, परराष्ट्रमा शिशिर खनाल, ऊर्जा तथा जलस्रोतमा अमरेशकुमार सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमा विराजभक्त श्रेष्ठ र सुम्निमा उदासको सम्भावनाबारे छलफल भइरहेको छ । कानुनमन्त्रीमा सोविता गौतम, सञ्चारमा मनीष झा, भौतिक पूर्वाधारमा सुधन गुरुङ तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा इन्दिरा रानाको नाम चर्चामा छ । सबैको नाम चर्चामा आए पनि १३ गतेमात्र सार्वजनिक हुने एक नेताको भनाइ छ ।
स्रोतका अनुसार स्वास्थ्यमन्त्रीमा तोसिमा कार्की र लेखजंग थापाको चर्चा रहेको छ । झण्डै दुई तिहाइको हाराहारीमा सिट संख्या लिएर सरकार बनाउन लागेको रास्वपा सरकारलाई उच्च प्राथमिकताका साथ हेरिएको छ । बालेन मन्त्री नभएका सांसदलाई आफ्नो निकटका रूपमा जिम्मेवारी दिने तयारीमा हुनुहुन्छ ।
गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा एक्लैले झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको थियो । प्रत्यक्षतर्फ १२५ र समानुपातिकमा ५७ गरी १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल बनेको थियो । लगत्तै रास्वपाले सरकार गठनको तयारी थालेको थियो ।
लामिछाने र साहबीच मन्त्री बाँडफाँटमा आन्तरिक तयारी जारी राखेका छन् । पार्टी अध्यक्ष लामिछानेले अर्थमन्त्री आफ्नो भागमा लिएमा गृहमन्त्री बालेन्द्र शाहले लिनुहनेछ । शाहले पटकपटक लम्साललाई गृहमन्त्री बनाउन दबाब दिइरहनुभएको छ । तर, लामिछानेसँग कुरा मिल्न सकेको छैन । सम्भवतः गृहमन्त्रीको दौडमा रहेका डीपी अर्याललाई पार्टीको माथिल्लो तहको जिम्मा दिएर गृहमा लम्साललाई ल्याउने तयारी छ ।
सांसदको योग्यता र दक्षताका आधारमा मन्त्री छनोट गर्ने विषयमा शीर्ष नेताबीच छलफल भइरहेको पार्टीका एक नेताले बताए । ‘जुन विषयमा दक्षता हासिल गरेका छन् । उसैलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको छ । अझै पनि टुंगो लागेको छैन, छलफल जारी छ’
–सांसद पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो । रास्वपाले बढीमा १८ मन्त्रालय बनाउने तयारी गरेको छ । १५ देखि १८ मन्त्रालय हुनेछन् । सबैमा एकैसाथ मन्त्रीको शपथ गर्ने तयारी छ । रास्वपा एक्लैले बहुमत प्राप्त गरेकाले संविधानको धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्त र सरकार गठन हुनेछ ।
मन्त्रीको चर्चामा रहेका नामहरू
स्वर्णिम वाग्ले ः अर्थ
शिशिर खनाल ः परराष्ट्र
सुनील लम्साल ः गृह वा भौतिक
सस्मित पोखरेल ः शिक्षा
विराजभक्त श्रेष्ठ ः संस्कृति पर्यटन तथा नागरिक उड्डययन
सोविता गौतम ः कानुन न्याय तथा संसदीय मामिला
मनीष झा ः सञ्चार तथा सूचना प्रविधि
सुधन गुरुङ ः भौतिक पूर्वाधार तथा यातायात
इन्दिरा राना ः महिला बालबालिका तथा ज्येष्ठ नागरिक
अमरेशकुमार सिंह ः ऊर्जा तथा जलस्रोत
बब्लु गुप्ता ः युवा तथा खेलकुद
तोसिमा कार्की वा लेखजंग थापा ः स्वास्थ्य











प्रतिक्रिया