लमजुङ।
सुशासन र पारदर्शितालाई सुदृढ बनाउन सञ्चालन गरिएको हेल्लो सरकार सेवामा लमजुङबाट ७६ वटा गुनासा दर्ता भएको तथ्याङ्क सार्वजनिक भएको छ । विभिन्न सरकारी कार्यालयको सेवा प्रवाहसँग सम्बन्धित ती गुनासा विभिन्न माध्यमबाट दर्ता भएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत सञ्चालित हेल्लो सरकार शाखाका अनुसार दर्ता भएका कुल गुनासामध्ये हालसम्म २१ वटाको मात्र समाधान भएको छ । ११ वटा गुनासो समाधानको प्रक्रियामा रहेका छन् भने ११ वटा गुनासो अझैसम्म नहेरेको अवस्थामै रहेका छन् । त्यस्तै ३३ वटा गुनासो भने हेरेको सूचीमा परेका छन् ।
जिल्लामा सबैभन्दा धेरै गुनासो जिल्ला प्रशासन कार्यालय लमजुङको परेको देखिन्छ । जहाँबाट मात्र ३३ वटा उजुरी दर्ता भएका छन् । त्यसैगरी बेसीशहर नगरपालिका र मध्यनेपाल नगरपालिका सम्बन्धी ११-११ वटा गुनासो दर्ता भएका छन् । सुन्दरबजार नगरपालिका सम्बन्धी सातवटा गुनासो रहेका छन् ।
अन्य स्थानीय तह तथा कार्यालयहरुमध्ये दोर्दी गाउँपालिका बाट पाँच, राइनास नगरपालिका बाट चार र मालपोत, नापी, पूर्वाधार विकास, विद्युत वितरण केन्द्र तथा मस्र्याङ्दी गाउँपालिका बाट एक÷एक वटा उजुरी दर्ता भएका छन् ।
हेल्लो सरकार नागरिकले सरकारी सेवा प्रवाहसम्बन्धी गुनासो, सुझाव तथा उजुरी दर्ता गर्न सक्ने आधिकारिक प्लेटफर्म हो । यसमार्फत फोन, इमेल, सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यमबाट गुनासो लिने व्यवस्था गरिएको छ ।
गुनासो प्राप्त भएपछि सम्बन्धित निकायमा पठाई समाधानका लागि सहजीकरण गर्ने प्रावधान रहे पनि अपेक्षित रुपमा प्रभावकारी हुन नसकेको सरोकारवालाहरुको भनाइ छ ।











प्रतिक्रिया