झापामा ‘बर्ड फ्लु’ पुष्टि : सङ्कटग्रस्त क्षेत्र घोषणा, पक्षीजन्य वस्तु ओसार–पसारमा कडाइ


झापा।

झापाका विभिन्न क्षेत्रमा ‘बर्ड फ्लु’ (एभियन इन्फ्लुएन्जा) पुष्टि भएपछि प्रशासनले उच्च सतर्कता अपनाउँदै प्रभावित क्षेत्रमा कडाइका साथ नियन्त्रणका उपाय लागू गरेको छ। दमक नगरपालिका र झापा गाउँपालिकाका व्यावसायिक कुखुरा फार्ममा संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले ती क्षेत्रलाई केन्द्र मानेर चारैतिर सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनाअनुसार संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, दाना तथा अन्य पक्षीजन्य सामग्री ओसार–पसारमा पूर्ण रोक लगाइएको छ।

भेटेरिनरी अस्पताल झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दमक नगरपालिका–१० स्थित एक एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा ‘हाइप्याथोजेनिक’ बर्ड फ्लु पुष्टि भएको छ। संक्रमण देखिएलगत्तै सो फार्मका सबै कुखुरा नष्ट गरिसकिएको उनले जानकारी दिइन्।

यसैबीच मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिकालगायतका क्षेत्रमा पनि कुखुरा मर्ने घटनाहरू बढ्दै गएका कारण जोखिम अझै बढेको अनुमान गरिएको छ। प्रारम्भिक ‘र्यापिड टेस्ट’मा पोजेटिभ देखिएका नमूनाहरू थप पुष्टि गर्न केन्द्रीय प्रयोगशालामा पठाइएको र पिसिआर परीक्षण प्रक्रिया जारी रहेको बताइएको छ।

झापासँगै मोरङ जिल्ला र सुनसरी जिल्लामा समेत संक्रमण फैलिएको जानकारी आएपछि सिंगो क्षेत्र उच्च जोखिममा परेको जनाइएको छ। अधिकारीहरूले किसानलाई सतर्क रहन, असामान्य रूपमा कुखुरा मरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी दिन र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।