लमजुङ।
लमजुङमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ६२ जना नयाँ क्षयरोगका विरामी फेला परेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा उपचार प्रक्रियामा आएका यी सबै नयाँ बिरामी हुन् ।
कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी बेसीशहर नगरपालिकामा १५ जना र मध्यनेपाल नगरपालिकामा १४ जना क्षयरोगी भेटिएका छन् । त्यस्तै सुन्दरबजारमा ११, राईनासमा ८, मस्र्याङ्दीमा ७, दोर्दीमा ५ र दुधपोखरीमा २ जना बिरामी रहेका छन् भने क्व्होलासोथार गाउँपालिकामा चालु वर्षमा एकजना पनि क्षयरोगी फेला परेको छैन ।
कार्यालयका अनुसार फेला परेका कुल बिरामीमध्ये ४६ जनामा फोक्सोमा क्षयरोग सङ्क्रमण देखिएको छ भने १६ जनामा फोक्सो बाहेकका अन्य अंगमा सङ्क्रमण भएको पुष्टि भएको छ । पहिचान भएका बिरामीले नियमित औषधि सेवन गरिरहेको र केही बिरामी पूर्ण रुपमा निको भइसकेको क्षयकुष्ठ सुपरभाइजर निरोज श्रेष्ठले जानकारी दिए ।
गत आर्थिक वर्षमा जिल्लामा एक सय ४ जना क्षयरोगी फेला परेका थिए । जसमध्ये ९१ प्रतिशत बिरामीले उपचार पूरा गरेका छन् भने ७ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।
जिल्लामा क्षयरोगीको संख्या तुलनात्मक रुपमा घट्दै गए पनि पूर्ण नियन्त्रणमा ल्याउन अझै चुनौती रहेको देखिएको छ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच नपुगेका कारण त्यस्ता क्षेत्रमा लुकेका बिरामीहरु अझै हुनसक्ने अनुमान गरिएको छ ।











प्रतिक्रिया