सुरक्षाकर्मी देख्दा डर होइन, भरोसा महसुस हुनुपर्दछ: सशस्त्र प्रहरी महानिरीक्षक अर्याल


काठमाडौं।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीप्रति नागरिकको विश्वास बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा आयोजित पशुपतिनाथ बाहिनी मुख्यालयको २२ औं स्थापना दिवसका अवसरमा राजधानीको नयाँ बानेश्वरस्थित बाहिनी मुख्यालयमा मंगलबार आयोजित समारोहको उद्घाटन गर्दे उनले सो कुरामा जोड दिएका हुन्  । ‘ सुरक्षाकर्मी देख्दा नागरिकमा डर होइन, भरोसा जाग्नुपर्छ ।’ यही सोच र सिद्धान्तलाई व्यवहारमा उतार्न सम्पूर्ण सशस्त्र प्रहरीलाई निर्देशन दिँदै उनले सेवामुखी र जिम्मेवार कार्यशैली अपनाउन आग्रह गरे।

राजधानी काठमाडौं सुरक्षा दृष्टिले जटिल र संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै महानिरीक्षक अर्यालले पशुपतिनाथ बाहिनीको कार्यसम्पादनको खुलेर प्रशंसा गरे। उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन, भीआईपी तथा भीभीआईपी सुरक्षा, महत्वपूर्ण संरचनाहरूको संरक्षण, साथै बन्द–हड्तालका बेला नागरिकको सुरक्षामा बाहिनीले उल्लेखनीय भूमिका निर्वाह गरेको पनि बताए।

महानिरीक्षक अर्यालले निर्वाचनको सफल र शान्तिपूर्ण सम्पन्नताले नेपालको सुरक्षा संयन्त्र सक्षम र प्रभावकारी रहेको प्रमाणित गरेको पनि बताए। साथै उनले मातहतका सुरक्षाकर्मीलाई परिणाममुखी ढंगले अझ जिम्मेवार भएर काम गर्न निर्देशन दिए।

सो अवसरमा बाहिनीपति तथा प्रहरी अतिरिक्त महानिरीक्षक सुरेश श्रेष्ठ ले संगठनको नीति र निर्देशन अनुसार बाहिनीले निरन्तर काम गर्दै आएको जानकारी दिए।

उपत्यकामा हुने बन्द, हड्ताल, प्रदर्शन र विरोधका कार्यक्रमहरूमा शान्ति–सुरक्षा कायम राख्न बाहिनी सक्रिय रहेको उहाँको भनाइ थियो। वार्षिकोत्सवको अवसर पारेर बाहिनीले रक्तदान कार्यक्रम, कविता प्रतियोगिता आयोजना गरेको जनाएको छ ।