काठमाडौँ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफूले हतार वा हतास मनस्थितिमा राजीनामा नदिएको स्पष्ट पारेका छन्। नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा जारी कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो निर्णय पूर्ण रूपमा सोच-विचार र जिम्मेवारीबोधका आधारमा लिएको बताएका हुन्।
सभापति थापाले विशेष महाधिवेशनपछि पार्टी आफ्नो नेतृत्वमा निर्वाचनमा गएको स्मरण गर्दै त्यसको परिणामप्रति आफू जवाफदेही रहेको उल्लेख गरे। उनले निर्वाचनपछि उठिरहेका टिप्पणीहरूलाई व्यक्तिगत रूपमा महत्व नदिएको पनि बताए।
उनका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएसँगै राजीनामा दिने योजना बनाइसकेका थिए। तर निर्वाचनसँग सम्बन्धित प्रक्रियाहरू पूरा गर्नुपर्ने भएकाले निर्णय सार्वजनिक गर्न केही समय लागेको उनले स्पष्ट पारे।
थापाले आफ्नो राजीनामा कुनै दबाब वा बाह्य प्रभावका कारण नभई नैतिक जिम्मेवारीका आधारमा आएको दोहोर्याए। “मेरो नेतृत्वमा हामी निर्वाचनमा गयौँ, त्यसको परिणामको जिम्मेवारी लिनु मेरो कर्तव्य हो,” उनले भने।
उनले नेपाली काँग्रेसलाई निर्वाचनले प्रमुख प्रतिपक्षको भूमिकामा पुर्याएको उल्लेख गर्दै अब पार्टीले यो जिम्मेवारीलाई प्रभावकारी ढंगले निर्वाह गर्नुपर्नेमा जोड दिए।











प्रतिक्रिया