हेटौंडा ।
जारी राष्ट्रिय दोस्रो बृहत् खेल महोत्सवमा भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौंको चन्द्रगिरि नगरपालिकाको न्युडायमण्ड क्लबले जितेको छ ।
फाइनलमा बागमती प्रदेशको केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटले हराउँदै न्युडायमण्डले उपाधि जितेको हो । गत सम्पन्न महोत्सवमा टोली दोस्रो स्थानमा रहेको थियो ।
प्रतिष्ठानलाई २५–१३, २५–१५ र २५–२३ को सेटमा पराजित गरेको न्युडायमण्डले ३ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै, प्रतिष्ठानले २ लाख रुपियाँ प्राप्त गरेको थियो । सेमीफाइनलमा पराजित पाल्पाको स्टेप भलिबल क्लब र मधेश प्रदेशको जनशक्ति युवा क्लबले समान ५०÷५० हजार नगद प्राप्त गरेका थिए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै न्युडायमण्डकी सुनीता क्षेत्रीले १० हजार नगद प्राप्त गरेकी छन् । विजेता टोलीबाट उत्कृष्ट हुनेमा स्पाइकरमा जेनिशा बिश्वकर्मा, डिफेन्डरमा एञ्जिला प्रधान, सेटरमा भावना तामाङ र प्रशिक्षकमा कुमार राई हुन् ।
यस्तै, उपविजेता टोलीबाट उत्कृष्ट हुनेमा सर्भरमा रेबिका लामा र ब्लकरमा सलिना गुरुङ हुन् । विधागत उत्कृष्ट हुने खेलाडीहरुले जनही ५÷५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
मकवानपुर जिल्ला भलिबल संघ र केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टोलीको सहभागिता थियो ।











प्रतिक्रिया