ब्यायाम मन्दिरका क्षितिज बने मिस्टर रामपिथेकस


काठमाडौं ।

काठमाडौंस्थित नेपाल व्यायाम मन्दिरका क्षितिज थापाले यस वर्षको प्रतिष्ठित ‘मिस्टर रामपिथेकस २०८२’ को उपाधि चुम्न सफल भएका छन् ।

शनिबार बुटवलमा सम्पन्न मोफसलकै सर्वाधिक पुरस्कार राशिको ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता’ मा थापाले देशभरका ६९ जना प्रतिस्पर्धीलाई पछि पार्दै मुख्य उपाधिमाथि कब्जा जमाएका हुन् । उपाधिसँगै उनले नगद २ लाख रुपैयाँ र ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा विभिन्न तौल समूह र विधामा रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । ५५ केजी समूहमा रुपन्देहीका सुनिल आलेले स्वर्ण जिते भने ६० केजीमा भक्तपुरका सुरेश दुवाल र ६५ केजीमा रुपन्देहीकै नमराज डुम्रे प्रथम भए ।

७० केजी समूहमा लुम्बिनीका माधव सुवेदीले पहिलो स्थान हासिल गर्दा ७० केजी माथिको विधामा क्षितिज थापाले बाजी मारेका थिए । समूहगत विजेताहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

महिला तर्फको ‘एथलेटिक फिजिक’ विधामा काठमाडौंकी शिला ठकुरीले बाजी मारिन् । उनले ३० हजार रुपैयाँ र ट्रफी हात पारिन् भने चुन कुमारी पुन र रविना कुँवरले क्रमशः दोस्रो र तेस्रो स्थान सुरक्षित गरे ।