लमजुङ।
लमजुका विभिन्न सिँचाइ सुविधा पुगेका खेतहरुमा चैते धान रोपाइँ सुरु भएको छ । चैत महिना लागेसँगै नहर तथा कुलो पुगेका क्षेत्रहरुमा किसानहरु रोपाइँमा व्यस्त देखिएका छन् ।
राईनासको धमिलिकुवा, चक्रतिर्थ, भलायखर्क, मध्यनेपालको भोर्लेटार, इशानेश्वर, करापुटार तथा सुन्दरबजारको दुराडाँडा लगायतका स्थानमा चैते धान रोपाइँ हुँदै आएको छ । वर्षभर सिँचाइ सुविधा उपलब्ध हुने क्षेत्रहरुमा मात्र यस्तो खेती सम्भव हुने भएकाले सीमित स्थानमा मात्रै यसको विस्तार भएको छ ।
यस वर्ष भने राईनास क्षेत्रका धेरै खेतमा कुलो मर्मतको आवश्यकता र सिँचाइको कमीका कारण अघिल्लो वर्षको तुलनामा रोपाइँ घटेको कृषि प्रसार अधिकृत सरोज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार केही स्थानमा मात्रै पर्याप्त पानी पुगेकाले रोपाइँ भइरहेको छ । साथै, गत वर्ष कटनीका बेला मौसम अनुकूल नहुँदा उत्पादन घटेकाले पनि किसानहरु निरुत्साहित भएका छन् ।
यद्यपि बर्खे धानको तुलनामा चैते धानको उत्पादन बढी हुने भएकाले जिल्लाका केही क्षेत्रमा यसको आकर्षण अझै कायम रहेको छ । तर पछिल्ला वर्षहरुमा जनशक्तिको अभाव र अपेक्षित उत्पादन नहुँदा धेरै किसानहरुले चैते धान खेती छोड्दै गएका छन् ।
कृषि प्रसार अधिकृत थापाका अनुसार अघिल्लो वर्ष करिब एक सय हेक्टर क्षेत्रफलमा रोपाइँ भएकोमा यस वर्ष करिब ९० हेक्टरमा मात्रै सीमित हुने देखिएको छ । सिँचाइ व्यवस्थापन सुधार गर्न सके चैते धानको सम्भावना अझै बढ्न सक्ने थापाको भनाई छ ।
हाल जिल्लाका किसानहरुले हर्दिनाथ–१, अर्वाली, सुख्खा र जुडी जातका धान बढी रोपिरहेका छन् । साथै, श्रमशक्ति र गोरुको अभाव बढ्दै जाँदा कृषकहरूले हाते ट्याक्टरको प्रयोग गरेर रोपाइँ गर्ने क्रम पनि बढ्दो छ ।











प्रतिक्रिया