लमजुङबाट करिब ३ हजार विद्यार्थी एसईई दिँदै

846
Shares

लमजुङ।

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि लमजुङमा करिब तीन हजार विद्यार्थी सहभागी हुने भएका छन् । नियमित र ग्रेडवृद्धि गरी कुल दुई हजार नौ १८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका छन् ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई लमजुङका अनुसार नियमिततर्फ दुई हजार तिन सय ३१ विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये एक सय २५ जना प्राविधिक धारका र दुई हजार दुई सय ६ जना अप्राविधिक धारका विद्यार्थी रहेका छन् । यस्तै, ग्रेडवृद्धितर्फ पाँच सय ८७ विद्यार्थीमध्ये ४२ जना प्राविधिक र पाँच सय ४५ जना अप्राविधिक धारका रहेका छन् ।

परीक्षा सञ्चालनका लागि जिल्लाभर १३ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको । गत वर्ष १६ वटा केन्द्र रहेकोमा यसवर्ष घटाएर १३ मा सीमित गरिएको हो । चार वटा पुराना केन्द्र हटाइएका छन् भने एउटा नयाँ केन्द्र थपिएको छ ।

यसवर्ष नयाँ रुपमा क्होलासोँथार गाउँपालिका मालिङस्थित शारदा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । यससँगै उक्त गाउँपालिकामा पहिलो पटक एसईई केन्द्र स्थापना भएको हो । अघिल्लो वर्ष क्होलासोँथारका विद्यार्थीलाई अन्य स्थानमा परीक्षा दिनुपरेकोमा यसपटक भने स्थानीय स्तरमै केन्द्र व्यवस्था गरिएकाले विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, अघिल्लो वर्ष सञ्चालनमा रहेका बेसीशहरस्थित भूपू सैनिक आवासीय मावि, उदिपुरको जनकल्याण मावि, राईनासको वीरभक्ति मावि र मध्यनेपालको कुष्माकर माविमा यसपटक परीक्षा केन्द्र नरहने भएको छ ।

कायम भएका केन्द्रमध्ये बेसीशहर र सुन्दरबजारमा तीन÷तीन वटा, मध्यनेपाल र राईनासमा दुई÷दुई वटा तथा दोर्दी, क्होलासोँथार र मस्र्याङ्दीमा एक÷एक वटा केन्द्र रहेका छन् । प्रत्येक केन्द्रमा कम्तीमा दुई सय ५० विद्यार्थी सहभागी हुने व्यवस्था मिलाइएको इकाईले जनाएको छ । जिल्लाको दुधपोखरी गाउँपालिकामा भने यसवर्ष पनि परीक्षा केन्द्र कायम गरिएको छैन ।