न्युयोर्क विमानस्थलमा विमान र ट्रक ठोक्किँदा दुई पाइलटको मृत्यु


काठमाडौँ। 

न्यूयोर्कको लागार्डिया विमानस्थलमा एउटा विमान ट्रकसँग ठोक्किँदा दुवै पाइलटको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।

“एयर क्यानडाको विमानमा ७२ यात्रु र चार चालक दलका सदस्य थिए,” बन्दरगाह प्राधिकरणका कार्यकारी निर्देशक क्याथरिन गार्सियाले पत्रकार सम्मेलनमा बताइन्।

“४१ जना यात्रु र चालक दललाई अस्पताल लगिएको छ। अहिलेसम्म ३२ जनालाई डिस्चार्ज गरिएको छ, तर केहीलाई ‘गम्भीर चोटपटक’ लागेको छ,” उनले भने।

“विमान क्यानडाको मोन्ट्रियलबाट आउँदै थियो र अवतरण गरिसकेको थियो। तर अवतरण पछि रनवेमा रोकिने क्रममा, यो विमानस्थल सञ्चालन गर्ने न्यु योर्क र न्यू जर्सीको पोर्ट अथोरिटीको ट्रकसँग ठोक्कियो,” बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजले रिपोर्ट गरेको छ।

दुर्घटनामा परेको विमान सानो CRJ ९०० मोडेलको विमान थियो।