मतदाता माझ सुझाव संकलन गर्दै मुगुबाट निर्वाचित सांसद शाही


मुगु। 

मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खड्ग बहादुर शाहीले विजय भएपछि आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँगको सुझा संकलन भेटघाट कार्यक्रममा जुटका छन्। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको फागुन २४ गते निर्वाचन परिणाम सार्वजनिक भएसँगै उनी निरन्तर गाउँ–गाउँ पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

खत्याड गाउँपालिका र सोरु गाउँपालिका हुँदै हाल उनी छायाँनाथ रारा नगरपालिका भित्रका विभिन्न वडाहरूमा मतदाता भेटघाटमा व्यस्त रहेका छन् । छायाँनाथ रारा–६ बालैमा आयोजित कार्यक्रममा उनले स्थानीय नागरिकका समस्या, आवश्यकता र सुझावहरू संकलन गर्दै आगामी कार्ययोजना निर्माणमा जुटेको बताएका छन् ।

कार्यक्रममा बोल्दै शाहीले जनताले दिएको विश्वासलाई उच्च सम्मान गर्दै आफ्नो जिम्मेवारी पूर्णरूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मुगुको समग्र विकासका लागि सडक विस्तार, स्वास्थ्य सेवा सुदृढीकरण, गुणस्तरीय शिक्षा र सुरक्षित खानेपानीको पहुँचलाई प्राथमिकतामा राखिने बताए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस गाउँ कार्यसमिति वडा–६ का सभापति धन बहादुर भामले नवनिर्वाचित सांसदसँग समन्वय गर्दै विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए । उनले दुर्गम बस्तीहरूमा आधारभूत सेवा विस्तार, सडक सञ्जाल सुधार र युवाहरूका लागि रोजगारी सिर्जना गर्न विशेष ध्यान दिन आग्रह गरे ।

स्थानीय बासिन्दाहरूले पनि नवनिर्वाचित प्रतिनिधिसँग प्रत्यक्ष भेट गर्दै विकास निर्माणका कामलाई छिटो र प्रभावकारी ढंगले अघि बढाउन माग गरेका छन् । विशेषगरी दुर्गम क्षेत्रका नागरिकहरूले सेवा सुविधा विस्तार, शिक्षा र स्वास्थ्यमा सुधार तथा पूर्वाधार विकासमा जोड दिएका छन् ।

शाहीले स्थानीय तहसँग सहकार्य गर्दै विकासका योजनाहरू कार्यान्वयन गर्ने र मुगुका समस्याहरू केन्द्र सरकारसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा शाहीले ७,९१४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी पूर्णबहादुर रोकाया ले ६,७१८ मत प्राप्त गरेका थिए । यसरी शाहीले करिब १,१९६ मतान्तरले जित हात परेको थियो ।