फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रवि लामिछाने अध्यक्ष भएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक सिट जितेको छ । देशभर नै राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै सिट जित्दा महिला उम्मेदवारतर्फ पनि यसै पार्टीकै सर्वाधिक महिला उम्मेदवार विजयी भएका छन् ।
कूल १४जना महिला उम्मेदवार विजयी हुँदा त्यसमध्ये १३ जना राष्ट्रिय स्वतन्त्र पार्टीकै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट १६ जना महिला उम्मेदवार निर्वाचनको मैदानमा उतरेकोमा १३ जनाले विजयी हासिल गरे । देशभर नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू विजयी भइरहँदा तीन जना महिला उम्मेदवार भने पराजित भए ।
बाँकी एक जना विजेता महिला उम्मेदवार भने नेपाली कांग्रेसकी उम्मेदवार हुन् । दैलेख क्षेत्र नम्बर १ बाट बासना थापा निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसले यस प्रतिनिधि सभाको निर्वाचनमा ११ जना महिला उम्मेदवारीलाई प्रतिस्पर्धामा उतारेको थियो ।
तर, अरू राजनीतिक दलबाट भने शून्य नै भएको छ । अरू ठूला राजनीतिक दलहरू जस्तै, नेपाल कम्युनिष्ट पार्टी एमालेले १० जना महिला उम्मेदवारी दिएकोमा कोही पनि विजयी भएनन् ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीले १२ जना महिला सदस्यलाई उम्मेदवार बनाएकोमा कोही पनि निर्वाचित हुन सकेनन् । जसमा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल र बुहारी वीना मगरसमेत यस निर्वाचनमा पराजित भए । रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयर पद छोडेर प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएकी थिइन् ।
यस प्रतिनिधि सभाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले सबैभन्दा बढी ५४ जना महिला सदस्यलाई उम्मेदवार बनाएको थियो । तर, प्रायजसोका धरौटी नै जफत भएको थियो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि कोही महिला उम्मेदवार विजयी हुन सकेन । राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ जना महिला उम्मेदवार बनाएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विजेता महिला उम्मेदवारहरू
–निशा डाँगी (झापा–१) ४५,६८० (३५,१३० मतान्तर)
–इन्दिरा राना मगर (झापा–२) ६०,११० (४८,७४२ मतान्तर)
–आशा झा (मोरङ–५) ३०,४३४ (२१,०१२ मतान्तर)
–रुविना आचार्य (मोरङ–६) ५५,५१३ (४२,६६३ मतान्तर)
आचार्यले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पराजित गरेकी हुन् ।
–पुष्पाकुमारी चौधरी (सप्तरी–१) ३८,१९५ (३०,३४८ मतान्तर)
–नितिमा भण्डारी कार्की (सर्लाही–१) ४४,१८१ (३६,३१० मतान्तर)
–गौरी कुमारी (महोत्तरी–४) ३०,१३२ (२१,३९० मतान्तर)
–आसिका तामाङ (धादिङ–१) ३९,१२८ (२४,०९६ मतान्तर)
–रञ्जु न्यौपाने (काठमाडौं–१) १५,४५५ (९,०९१ मतान्तर)
–डा.तोसिमा कार्की (ललितपुर–३) ४३,०२६ (३४,०५१ मतान्तर)
–सोविता गौतम (चितवन–३) ५९,२७७ (३८,६६२ मतान्तर)
गौतमले नेपाली कम्युनिस्ट पार्टीकी रेणु दाहाललाई पराजित गरेकी हुन् ।
–बिना गुरुङ (कास्की–३) ३७,७५० (२४,९७० मतान्तर)
–कोमल ज्ञवाली (कैलाली–१) १७,८२६ (४,९५९ मतान्तर)
नेपाली कांग्रेसबाट जितेकी महिला उम्मेदवार
–वासना थापा (दैलेख–१) १२,३७२ (५७६ मतान्तर)











प्रतिक्रिया