आहाले–याम्खा सडक कालोपत्रे सुरु

1.03k
Shares

रखोटाङ। 

 खोटाङको आहालेदेखि याम्खासम्मको सडक कालोपत्रेको काम सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा विमानस्थल नजिकै पर्ने आहाले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा रातमाटा हुँदै पञ्चमी बजारसम्मको सडक कालोपत्रे सुरु गरिएको हो ।

आयोजनाको पहिलो प्याकेज अन्तर्गत सडक कालोपत्रे गराउन कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय खोटाङले निर्माण कम्पनी यु।एस।जि रक्तकन्या हिमश्रृङखला जेभी काठमाडौसँग भ्याट र पिएससहित १७ करोड ३७ लाख ८२ हजार ४९ रुपैयाँ ३ पैसामा गत माघ १८ गते सम्झौता गरेको थियो ।

 उक्त बजेटमा जेभीले आहालेदेखि याम्खासम्म ८ दशमलब ०२ किलोमिटर सडकमा कटिङ, पक्की नाली निर्माण, रिटेनिङ पर्खाल र जाली, पाइप कल्भर्ट, सडक ढलान र अस्फाल्ट कालोपत्रे गर्ने पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर बिनम दाहालले बताउनुभयो ।

आगामी २०८४ साल माघ १७ गतेसम्म कालोपत्रे गरिसक्नुपर्ने सडकको कोशी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास एवम स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गर्नुभएको छ । तत्कालीन मन्त्री राईले नै सडक कालोपत्रेका लागी ३० करोड बजेट विनियोजन गरिदिनु भएको थियो ।

बहुबर्षीय आयोजना अन्तर्गतको उक्त सडकका लागि चालू आर्थिक वर्ष २०८२र०८३ का लागी पाँच करोड बजेट विनियोजन गरिएको छ । सोही सडक अन्तर्गत दोस्रो प्याकेजका लागी ठेक्का प्रक्रियाको काम भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख दाहालको भनाई छ । समय अवधिमै काम सम्पन्न गर्न मन्त्री राईले निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । सडक कालोपत्र नहुँदा जिल्लाको दक्षिणी भेगबाट सदरमुकाम आवत–जावत गर्न समस्या हुने गरेको छ।