नेकोस जुडोमा पाम र एमएमएसी च्याम्पियन


काठमाडौं।

बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेका छन् । पाम जुनियर तथा एमएमएसी क्योडटमा च्याम्पियन बनेका हुन् ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा पामले ४ स्वर्ण र १ रजत जित्यो । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय जुडो संघ नेपालद्वारा आयोजित प्रतियोगितामा बंगलादेश क्रिरा शिखा प्रोतिष्ठान दोस्रो भयो । बंगलादेशले २ स्वर्ण जित्यो भने १ स्वर्ण र ३ रजतसहित दाङ जुडो डोजो तेस्रो स्थानमा रह्यो ।

क्याडेटमा टिम च्याम्पियन बनेको एमएमएसीले ६ स्वर्ण, ५ रजत र ८ कांस्य जित्यो । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसहित पाम दोस्रो भयो । तेश्रो स्थानको पेल्खिल डोजो क्लब, भुटानले ३ स्वर्ण, १ रजत र २ कांस्य जितेको थियो । जुनियर क्याडेट दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए ।

बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको जुनियर पुरुषमा पामका सविनकुमार दियाली तथा महिलामा बंगलादेशकी फबिहा बुश्रा उत्कृष्ट खेलाडी घोषित भए ।

क्याडेटको पुरुषमा एमएमएसीका प्रिन्स विक तथा महिलामा पेल्खिल, भुटानकी तान्डिन दोर्जी वाङमो उत्कृष्ट खेलाडी चुनिए । आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे । कविराम घर्ती मगर उत्कृष्ट निर्णायक बने ।