एन्फा र राखेपबीच अर्को विषयमा चल्यो विवाद 


काठमाडौं। 

पहिले नै निर्वाचनको विषय लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच विवाद भइरहेकोमा अहिले फेरि अर्को विषयमा विवाद चलेको छ । अहिले चाहिँ दशरथ रंगशाला उपलब्ध गराउने विषयमा विवाद भएको हो । 

यही चैत १२ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भनिएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्द भएको छ । एन्फाले सो खेल रद्द हुनुमा दशरथ रंगशाला प्रयोग गर्नको लागि राखेपले स्वीकृति नदिएको बताएको छ । 

एन्फाले निकालेको विज्ञप्तिअनुसार राखेपसँग एन्फाले मैत्रीपूर्ण खेलका लागि रंगशाला र खेल मैदानका लागि फागुन १० गते स्वीकृति मागेको थियो । एन्फाले चैत ३ गते रंगशालाको फ्लडलाइठ, स्कोर बोर्ड र अन्य पूर्वाधारहरु खेलको लागि उपलब्ध गराइदिन पत्र पठाएको थियो । तर, प्रतियोगिता मुखैमा आइपुग्दा राखेपले यसका लागि स्वीकृति नदिँदा खेल रद्द गर्न बाध्य भएको भनेर एन्फाले विज्ञप्तिमा जनाएको छ । 

राखेपले ५ गते नै स्विकृत दिएको

राखेपले हङकङसँग हुने मैत्रीपूर्ण फुटबल खेलको लागि दशरथ रंगशाला चैत ५ गते नै दिएको विज्ञप्तिमार्फत् जानकारी गराएको छ । एन्फाले चैत १२ गते हुने खेलको लागि राखेपले मैदान नदिएको समाचार भ्रमपूर्ण रहेको जनायो ।

राखेपले उक्त प्रतियोगिता सञ्चालन गर्न आवश्यक स्वीकृती र अनुमति पहिले नै जारी भइसकेको जनाएको छ । संघ–संस्था समन्वय शाखाबाट ५ चैतमा सामान्य प्रशासन शाखाबाट रंगशाला, फ्लडलाईट, स्कोरबोर्ड लगायत पूर्वाधारको प्रयोगसम्बन्धी ३ चैतमा पत्र पठाएर स्वीकृती दिइसकेको जानकारी राखेपले सार्वजनिक गरेको हो ।

सूचना अधिकारी खुशराज दाहालले विज्ञप्तिमा उल्लेख गरेका थिए–‘नेपाली खेलकुदको विकास र विस्तारका लागि क्रियाशील राष्ट्रिय खेलकुद परिषद्लाई भ्रमपूर्ण आरोप लगाई आफ्नो जिम्मेवारी नबुझ्ने र कमजोरी लुकाउने प्रयास गर्नु अनुचित छ । एन्फाद्वारा प्रकाशित भ्रमपूर्ण समाचारले खेलकुद समुदायमा असर पार्न सक्ने भएकाले सरोकारवालालाई सचेत रहन आग्रह गर्दछौं ।’

मैत्री खेल अभ्यासको लागि

हङकङविरुद्धको मैत्रीपूर्ण खेल एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलका लागि अभ्यासको रूपमा लिइएको थियो । एसियन कप समीकरणबाट बाहिरिसकेको नेपालले एएफसी छनोटको तेस्रो चरणको अन्तिम खेलमा मार्च ३१ (चैत्र १७ गते) मा लाओसको सामना गर्दैछ ।

लाओसविरुद्धको खेल पनि नेपालमै हुनुपर्ने थियो । तर, भौतिक पूर्वाधारमा देखिएका सामान्य कमजोरी सुधार्न एन्फा उदासिन भएपछि दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भएसँगै नेपाल लाओस भ्रमण गर्न बाध्य भएको हो ।