हेटौंडा ।
हेटौंडा–१० स्थित टीसीएन चौरमा जारी राष्ट्रिय दोस्रो बृहत् खेल महोत्सवमा भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौंको चन्द्रगिरि नगरपालिकाको न्यु डायमण्ड क्लबले जितेको छ ।
आइतबार भएको फाइनलमा बागमती प्रदेशको केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटले हराउँदै न्यु डायमण्ड क्लबले उपाधि जितेको हो । न्यु डायमण्ड क्लब यसअघिको महोत्सवमा भएको प्रतियोगिताको उपविजेता हो । आइतबारको फाइनलमा प्रतिष्ठानलाई उसले २५–१३, २५–१५ र २५–२३ को सेटमा पराजित गरेको छ ।
आइतबार विहानको अन्तिम सेमीफाइनलमा लुम्बिनी प्रदेशस्थित पाल्पा जिल्लाको स्टेप भलिबल क्लबलाई २५–१६,२५–७ र २५–२० को सेटले पराजित गर्दै केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठान फाइनल प्रवेश गरेको थियो भने शनिबार पहिलो सेमीफाइनल खेलमा न्यु डायमण्ड स्पोट्र्स क्लबले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई २५–१०, २५–१४ र २५–१८ को सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको उपाधि विजेता न्यु डायमण्ड टिमले ३ लाख रुपियाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता केशबलाल टिमले २ लाख रुपियाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । सेमीफाइनलमा पराजित लुम्बिनी प्रदेशस्थित पाल्पा जिल्लाको स्टेप भलिबल क्लब र मधेश प्रदेशको जनशक्ति युवा क्लब टिमले ५० हजार रुपियाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै न्यु डायमण्ड क्लबकी सुनीता क्षेत्रीले १० हजार नगद पुरस्कार र मेडल प्राप्त गरेकी छन् । उत्कृष्ट स्पाइकर न्यु डायमण्डकी जेनिशा बिश्वकर्मा, उत्कृष्ट डिफेन्डर एञ्जिला प्रधान, उत्कृष्ट सेटर न्यु डायमण्डकी भावना तामाङ, उत्कृष्ट सर्भर केशबलाल प्रतिष्ठानकी रेबिका लामा, उत्कृष्ट ब्लकर केशबलालकी सलिना गुरुङ र उत्कृष्ट प्रशिक्षक न्यु डायमण्डका कुमार राई घोषित भएका छन् । उनीहरुले जनही ५÷५ हजार नगद पुरस्कार र मेडल प्राप्त गरेका छन् । मकवानपुर जिल्ला भलिबल संघ र केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमको सहभागिता थियो ।
बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेलको प्रमुख आतिथ्यता र मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षतामा पुरस्कार वितरण भएको थियो । पुरस्कार वितरण कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव दीपक लामा, जिल्ला खेलकुद सदस्य मदन उप्रेतीको उपस्थिति थियो । खेलकुद महोत्सवमा अन्तिम खेल राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता बुधबारदेखि शुक्रबारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।











प्रतिक्रिया