८ महिनामा झण्डै ११ खर्बको व्यापार घाटा


काठमाडौं।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार विस्तार भए पनि उच्च व्यापार घाटा अर्थतन्त्रका लागि गम्भीर चुनौतीकै रूपमा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फागुन मसान्तसम्म आयात १२.५ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब रुपियाँ पुगेको छ भने निर्यात २०.८३ प्रतिशतले वृद्धि भएर १ खर्ब ९१ अर्ब रुपियाँमा सीमित भएको छ ।

आयातको आकार ठूलो रहँदा कुल व्यापार घाटा १० खर्ब ९८ अर्ब रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.२२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपियाँ थियो ।

यस अवधिमा कुल वैदेशिक व्यापार १३ प्रतिशतभन्दा बढीले विस्तार भई १४ खर्ब ८० अर्ब रुपियाँ पुगेको छ। व्यापार संरचनामा भने अझै आयातकै वर्चस्व देखिन्छ—कुल व्यापारमा आयातको हिस्सा ८७.०९ प्रतिशत र निर्यातको हिस्सा १२.९१ प्रतिशत रहेको छ। यद्यपि अघिल्लो वर्षको तुलनामा निर्यातको अंश केही सुधारिएको संकेत देखिएको छ । आठ महिनाको अवधिमा सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ अग्रस्थानमा रहेका छन् । डिजेलमा मात्रै ८२ अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ भने पेट्रोलमा करिब ४३ अर्ब र एलपी ग्यासमा ३७ अर्ब रुपियाँ बराबरको आयात भएको छ । त्यस्तै कच्चा भटमास तेल, फलामजन्य सामग्री, मोबाइल फोन, सुन र चाँदी पनि उच्च आयात सूचीमा रहेका छन्।

मुख्य व्यापार साझेदार मुलुकहरूसँग नेपालको व्यापार असन्तुलन अझ गहिरिएको छ। भारतसँग मात्रै ५ खर्ब ६७ अर्ब रुपियाँभन्दा बढी व्यापार घाटा रहेको छ भने चीनसँगको घाटा २ खर्ब ६४ अर्ब रुपियाँ नाघेको छ। अत्यधिक आयात र न्यून निर्यातका कारण समग्र व्यापार सन्तुलनमा दबाब बढेको देखिन्छ।

निर्याततर्फ भने भटमास तेल अग्रस्थानमा रहेको छ। त्यसपछि अलैँची, कार्पेट, सूर्यमुखी तेल र पाम तेल प्रमुख निर्यात वस्तुका रूपमा देखिएका छन्। निर्यात वृद्धि दर सकारात्मक भए पनि समग्र सन्तुलनमा यसको प्रभाव सीमित देखिएको छ । आर्थिक वर्षको सुरुवाती महिनामा तीव्र रूपमा बढेको आयात र निर्यात पछिल्ला महिनामा क्रमशः सुस्त हुँदै गएको देखिएको छ। असोजसम्म २० प्रतिशतको हाराहारीमा रहेको आयात वृद्धिदर फागुनसम्म आइपुग्दा करिब १२.५ प्रतिशतमा झरेको छ। निर्यातको वृद्धिदर पनि असोजमा ९० प्रतिशतसम्म पुगेकोमा अहिले करिब २० प्रतिशतमा सीमित भएको छ।
फागुन महिनामा मात्रै आयात १ खर्ब ६६ अर्ब रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि हो। निर्यात भने सोही महिनामा २३ अर्ब रुपियाँमा झर्दा वार्षिक आधारमा कमी आएको देखिन्छ।

भन्सार अधिकारीहरूका अनुसार भारत, चीन, युरोप र अमेरिका जस्ता प्रमुख बजारमा देखिएको आर्थिक मन्दीले उपभोग घटाएको छ, जसको प्रत्यक्ष असर नेपालको निर्यातमा परेको छ। अन्तर्राष्ट्रिय स्तरमा देखिएको व्यापार तनाव, युक्रेन संकट र मध्यपूर्वी अस्थिरताले पनि व्यापार लागत बढाएको छ। डलरको मूल्यवृद्धिले आयात महँगो बनाएको छ भने व्यापारीहरू नयाँ एलसी खोल्न हिच्किचाउँदा व्यापार गतिविधि सुस्त भएको विश्लेषण गरिएको छ। साथै, विदेशी कच्चा पदार्थमा आधारित पुनःनिर्यात पनि प्रभावित भएको छ । अर्थविद्हरूका अनुसार निर्यात वृद्धि उत्साहजनक देखिए पनि आयातमुखी संरचनाका कारण व्यापार घाटा अझै उच्च रहँदै आएको छ। आयात प्रतिस्थापन, औद्योगिक उत्पादन विस्तार र निर्यात प्रवद्र्धनमा ठोस नीतिगत सुधार नगरेसम्म यस्तो असन्तुलन दीर्घकालीन दबाबकै रूपमा रहने उनीहरूको निष्कर्ष छ । पछिल्लो तथ्यांकले वैदेशिक व्यापार विस्तार भइरहे पनि आन्तरिक माग र उपभोगमा सुस्तता देखिएको संकेत गरेको छ, जसले आगामी महिनामा अर्थतन्त्रको गतिमा थप प्रभाव पार्न सक्ने आँकलन गरिएको छ।